चीनबाट यसरी लाभ लिँदै छ बंगलादेश, चीनले बनाइदिएको एक्सप्रेस-वे सञ्चालनमा
विगत केही समययता चीन र बंगलादेशको सम्बन्ध घनीभूत बन्न थालेको छ । चीनले केही अघि बंगलादेशका ९७ प्रतिशत निर्यातलाई करमुक्त बनाउने घोषणा गरेको थियो ।
व्यापारिक सम्बन्ध मात्र नभई यी दुई देशले स्वास्थ्य सम्बन्ध पनि बढाएका छन् । बंगलादेशले चीनको महत्त्वाकांक्षी बेल्ट एण्ड रोडबाट पनि लाभ लिइरहेको छ। भारत र चीनबीच लद्दाखमा भिडन्त हुँदा बंगलादेशले एउटा बयान समेत जारी गरेन । चीन र बंगलादेश नजिकिँदा पाकिस्तानसँग पनि बंगलादेशको सम्बन्ध न्यानो बन्दै गएको छ ।
२० मार्च २०२२ मा अमेरिका र बंगलादेशले ढाकामा भएको आठौँ साझेदारी वार्ताका क्रममा रक्षासँग सम्बन्धित सैन्य सूचना सामान्य सुरक्षा सम्झौताको मस्यौदा पारित गरेका थिए । त्यसको भोलिपल्ट बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बंगलादेश र चीनको बराबरीको संयुक्त उद्यम रहेको बंगलादेशकै हालसम्मको सबैभन्दा ठूलो बिजुली उत्पादन परियोजना १३२० मेगावाटको थर्मल पावर प्लान्टको उद्घाटन गरेकी थिइन् ।
त्यस्तै देशको स्वतन्त्रताको स्वर्णजयन्ती र मुजिबुर रहमानको जन्मशताब्दी मनाउन शेख हसिनाको निमन्त्रणामा मार्च २६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश पुगे । एक साताको अवधिमा भएका यी तीन घटना संयोग मात्रै थिएनन् । यसले बंगलादेशको विदेश नीतिको बलियो अभ्यासलाई पृष्टि गर्छ ।
चीनले बनाइदिएको एक्सप्रेस सञ्चालनमा
बंगलादेशको ढाकामा चीन सरकारद्वारा निर्माण भएको एलिभेटेड एक्सप्रेसवे आइतबारबाट यातायातका लागि खुल्ला गरिएको छ। यो देशको प्रमुख पूर्वाधार परियोजनामध्ये एक हो। १९.७३ किलोमिटर लामो द्रुतमार्ग दुई चिनियाँ कम्पनी र एक थाई कम्पनीको संयुक्त लगानीमा निर्माण गरिएको हो।
यो बंगलादेशको प्रमुख विमानस्थल हजरत शाहजलाल अन्तर्राष्ट्रिय एयरपोर्टबाट ढाकाको केन्द्रिय कमलापुर स्टेशनसम्म चल्छ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री हसिनाले एक्सप्रेसवे बंगलादेशको शहरी यातायात र मानिसका लागि नयाँ कोशेढुंगा भएको बताइन्। यातायात सञ्चालन भएसँगै यसले बंगलादेशको ट्राफिक जामलाई धेरै कम गर्ने उनले बताइन्।