कांग्रेस सहमहामन्त्री यादवलाई खुकुरी हान्ने को हुन् ?
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने नुवकोटका श्यामबाबु सापकोटा रहेको प्रहरीले जनाएको छ ।
उनलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ र सिंहदरबार वृत्तमा राखेर अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमण भएको थियो । टाउकोमा चोट लागेर रगताम्य भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण लगायतका विषयमा धारणा राखेका थिए । उनले यी प्रकरणमा सरकारको कदम सन्तोषजनक नभएको धारणा राखेका थिए ।
यादवलाई आक्रमण गर्ने सापकोटा पनि रिपोर्टर्स क्लबको साक्षात्कार कक्षमा दर्शकदीर्घाको अघिल्लो लहरमा बसेर यादवका कुरा सुनेका थिए । जब कार्यक्रम सकिएर यादव बाहिर निस्किए, सापकोटाले पनि पछ्याउँदै पछाडिबाट टाउकोमा खुकुरी प्रहार गरेका थिए ।
उनले आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने गर्दथे । युट्युबहरुका उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओावादी केन्द्रका शीर्ष नेताहरुविरुद्ध उनले चर्का अभिव्यक्ति दिने गरेका छन् ।
एक भिडियोमा उनले ज्ञानेन्द्र शाहले आदेश दिए उनीहरुलाई सिंहदरबारबाट बाहिर निकालेर फुटबल खेल्ने अभिव्यक्ति दिएका छन् ।
तत्कालै प्रहरीले उनलाई पक्राउ गरेर भ्यानमा राखेको थियो । भ्यानभित्रबाट पनि उनले घाइते भएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादव र अन्य राजनीतिक दलका नेताहरुविरुद्ध बोलेका थिए ।