गृहमन्त्रीले राजीनामा दिनहुन्न : दीक्षित

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । राजनीति विश्लेषक डा. सुन्दरमणि दीक्षितले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा पदबाट राजीनामा दिन नहुने बताएका छन् ।

आज रिपोर्टस् क्लब नेपालमा आयोजित पत्रकारसँगको भेटघाटमा उनले सरकारले छानबिन थालेका भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान नहुने भएकाले तत्काल गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताए ।

‘गृहमन्त्रीलाई कुनै पनि हालतमा हटाउनुहुँदैन । उनलाई हटाएमा बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी स्टेट र सुन तस्करी प्रकरण सबै बिथोलिने देखिन्छ,’ दीक्षितले भने, ‘त्यसैले अहिले गृहमन्त्रीको राजीनामा माग्नुभन्दा अनुसन्धान गर्न सहयोग गर्नुपर्छ ।’

विश्लेषक दीक्षितले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको अव्यिक्तिप्रति पनि आपत्ति जनाए । उनले बालेनले आफ्नो पदीय मर्यादा कायम राख्दै संयमित हुनुपर्ने बताए । मेयर पदमा बसेर सरकारप्रति अराजक शैलीमा टिप्पणी गर्न नहुने दीक्षितको भनाइ छ  ।