माओवादी नेता हत्याका आरोपी प्रदेश सांसद सिंह पक्राउ

मूलखबर संवाददाता
काठमाडौं

सप्तरी । माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट मधेश प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् । उनी जसपा नेता एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादवका भाइ समेत हुन्।

यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या भएको आरोप छ । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याई गोली हानी चौधरीको हत्या भएको थियो ।

उक्त विषयमा जाहेरी परेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह समेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् ।