नेपाल-भारत क्रिकेटः नेपाली क्रिकेटरले छक्का प्रहार गरे एक लाख, यसकारण हुनसक्छ खेल रद्ध
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ।
श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ।
नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो। त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो। नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो। मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो। अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन्। जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो। वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन्।
समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ। त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन् अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो। भारतको एक खेलमा एक अङ्क छ। एक खेल खेलेको नेपाल अङ्कविहीन छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो।
समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ। अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।
छक्का हाने एक लाख
यती ब्रेवेरीको उत्पादन अर्ना बियरले भारतविरुद्धको नेपाली खेलाडीले प्रहार गरेको हरेक छक्काबापत टिमलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने जनाएको हो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
वर्षाले खेल बिथोल्ने सम्भावना उच्च
नेपाल र भारतबीचको खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना देखिएको छ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि हुने उक्त खेलको समय पनि क्रिकेट स्टेडियम क्षेत्र बादलले ढाक्ने देखिएको छ। मौसमविदहरुले उक्त समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत रहेको जनाएका छन्। स्टेडियम क्षेत्रको तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहन सक्नेछ।
यसै स्टेडियममा शनिबार भएको भारत र पाकिस्तानबीचको खेल पनि मध्यराति वर्षात्का कारण रद्द भएको थियो। उक्त खेलमा पनि वर्षका कारण केवल एक मात्रै पारी सम्भव भएको थियो। अर्कातिर दोस्रो पारीको एकै बल नखेली खेल रद्द भयो। भारतले टस जितेर पूरै ओभर खेल्न नपाई २६६ रनमा समेटिएको थियो। श्रीलंकाको मौसम विभागका अनुसार सोमबार क्यान्डीमा बिहान ८ बजेदेखि नै पानी पर्ने पूर्वानुमान छ। पानी पर्ने र रहने क्रम मध्यरातिसम्म चल्न सक्नेछ।
अर्कातिर खेलको समय दिउँसो २ बजेदेखि पानी पर्न सक्नेछ। भारत र नेपालको खेल भारतीय समयानुसार दिउँसो ३ बजे र नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। टस भने दिउँसो साढे २ बजे गरिनेछ।
यदि सोमबार भारत र नेपाल बीच हुने खेल रद्द भएमा भारत सुपर फोरमा जाने छ। नेपालले आफ्नो पहिलो खेल पाकिस्तानलाई सुम्पिएको थियो।