प्रचण्डलाई विप्लवको ढाडस– भ्रष्टाचारविरुद्ध लड्नुस्, सडकबाट हामी साथ दिन्छौं

मूलखबर संवाददाता
काठमाडौं

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रष्टाचारविरुद्धको लडाइँमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सडकको मोर्चाबाट आफूहरुले साथ दिने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस्, चोकको मोर्चाबाट हामी लडेर साथ दिन्छौं ।’

वर्तमान सरकार बनेपछि भ्रष्टाचारी र मानव तस्करलाई कारबाही भएको भन्दै विप्लवले प्रचण्डको सह्राना गरे । भ्रष्टाचार र मानव बेचबिचखनविरुद्ध लड्दा प्रधानमन्त्री प्रचण्डलाई घेराबन्दी भएको पनि उनले बताए । ‘सरकारविरुद्ध कानुन, प्रशासन, अर्थतन्त्र, अदालत, सम्पूर्ण प्रशासन यन्त्र, अन्तर्राष्ट्रिय शक्तिबाट घेराबन्दी भएको छ,’ विप्लवले भने ।

विप्लवले एमसीसीतर्फ संकेत गर्दै अनुदानको नाममा हुने वैदेशिक हस्तक्षेप सह्य नहुने समेत बताए । एमसीसी जनताको हितमा नभएको उनले बताए । ‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।’