पाल्पामा जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु, ७ जना घाइते (नामावलीसहित)
तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा आज बिहान खसेको सुख्खा पहिरोले स्कार्पियो जिप पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हबल्दार तानसेन नगरपालिका–११ बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५ हेम्जाका ३१ वर्षीय विनोद तिम्सिना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
गुल्मीको तम्घासबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को जिपमाथि सुख्खा पहिरो खसेको थियो ।
दुर्घटनामा एकै गाउँका सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँका ४० वर्षीया शोभा घर्तीमगर, सोही स्थानकी ३७ वर्षीया सुस्मा राना, सुस्माकी ६ वर्षीया छोरी सुरवी, उनकै ५ महिनाकी छोरी सुविया, ४५ वर्षीय टेकबहादुर जीएम, २७ वर्षीया स्वीकृति थापा र उनका ५ वर्षीय छोरा सुरेन थापा रहेका छन् ।
घाइतेहरुको पाल्पाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालक बालकृष्ण श्रेष्ठ भने सकुशल छन् ।