राष्ट्रिय संस्कृति सम्बन्धी नीति बनाऔं : अनन्त

मूलखबर संवाददाता
काठमाडौं

१२ भदौ, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपालको राष्ट्रिय संस्कृति सम्बन्धी नीति बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अनन्तले एक शक्तिशाली आयोग मार्फत् राष्ट्रिय नीति बनाउनुपर्ने बताएका हुन् ।

‘नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढंगले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ,’ नेता अनन्तले भने, ‘त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरु व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस् ।’

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाती आन्दोलनपछि नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था कायम भएको उल्लेख गर्दै नेता अनन्तले त्यसलाई खलबलाउन विभिन्न किसिमका अतिवाद देखा परेको बताए । कुनै पनि राजनीतिक दल र धार्मिक समुदायले अतिवादलाई प्रशय दिन नहुनेमा जोड दिँदै अनन्तले यस्ता समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई सुझावसमेत दिए ।

सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव र एकता बिथोलिन सक्नेतर्फ ध्यान दिन जरुरी रहेको पनि उनले बताए ।