महिला खेलाडी चुम्बन विवाद, स्पेनिस फुटबल महासंघका अध्यक्ष निलम्बित

मूलखबर संवाददाता
काठमाडौं

चुम्बन विवादमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुई रुबियालेजलाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन समितिले रुबियालेजलाई निलम्बन गरिएको जानकारी दिएको छ । स्पेनी महिला फुटबल खेलाडी जेनी हर्मोसोले आफ्नो सहमतिबिना नै रुबियालेसले चुम्बन गरेको बताएपछि उनलाई कारबाही भएको हो ।

स्पेनका ८० भन्दा बढी महिला खेलाडीले रुबियालेजलाई पदबाट नहटाएसम्म मैदानमा नआउने बताएका थिए । गत आइतबार महिला वर्ल्ड कप फाइनलमा स्पेनको टिमले इंग्ल्याण्डलाई पराजित गरेपछि खुसी मनाउने क्रममा रुबियालेजले स्पेनिस खेलाडी जेनीलाई किस गरेका थिए ।

यसपछि उनलाई अनैतिक भन्दै राजीनामाको माग उठिरहेको छ । यद्यपि, उनले यस्तो मागलाई बेवास्ता गर्दै आएका छन् । शुक्रबार त उनले राजीनामाको मागलाई इन्कार गर्दै उत्तेजक भाषणसमेत गरेका थिए । आफूले जेनीकै सहमतिमा किस गरेको जिकिर उनले गरे ।

स्पेन सरकारले रुबियारेजलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरिसकेको छ । स्पेन सरकारका विभिन्न मन्त्रीले पनि उनको व्यवहारको आलोचना गरेका छन् । स्पेनमा फुटबलका विभिन्न प्रमुख प्रायोजकहरूले पनि कारबाहीको माग गरेका छन् ।

रुबियालेजले जितको खुसी मनाउने क्रममा स्पेनकी महारानी लेतिजियानजिकै उभिएर आफ्नो गुप्ताङ्ग छोएको विषयमा पनि आलोचना भइरहेको छ । यो किस विवादले स्पेनमा महिला अधिकारलाई लिएर लामो समयदेखि चलिरहेको बहसलाई थप तताएको छ ।