धरानमा सामाजिक सद्भाव खल्बलिन नदिन सदभाव र्याली
प्रदेशको नामलाई लिएर आन्दोलन हुने गरेको धरानमा फेरि अर्को विवाद उत्पन्न भएको छ। प्रदेशको नाम ‘कोशी’ खारेज गरी ‘किरात लिम्बुवान’ राख्नुपर्ने भन्दै निरन्तर आन्दोलन हुँदै आइरहेको त्यहाँ केही मानिसले ‘गोरु काटेर मासु खाएको’ भन्दै विरोधमा प्रदर्शनको तयारी भएपछि सामाजिक सद्भाव खल्बलिने चिन्ता देखिएको हो।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दू समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन्। हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संघ संस्थाको अगुवाइमा प्रदर्शन गर्ने’ घोषणा गरिएको छ। देशभरिका सनातनी हिन्दु सङ्गठन भेला हुने भनिएको छ।
प्रशासनिक पहल
सामाजिक क्षेत्रका अगुवाहरूले धार्मिक एवं सांस्कृतिक विवादको बेलैमा समाधान नखोजे नराम्रो परिणाम ल्याउन सक्ने चेतावनी दिएपछि सुनसरी जिल्ला प्रशासनले शनिबारको प्रदर्शनमा रोक लगाएको छ।
कार्यक्रम रोक्न धरानमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले धरान उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण वडालगायतका विभिन्न क्षेत्रमा समेत लागु हुने गरी शुक्रवार मध्यरातदेखि २४ घण्टाको निम्ति निषेधाज्ञा जारी गरेको छ।
धरानमा धार्मिक सम्प्रादायिक शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले बताइन्। उनले भनिन्, ‘‘प्रशासनले तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्न/नगराउन आदेश जारी भएको छ।’’
पक्ष र विपक्षमा हुन सक्ने सम्भावित प्रदर्शन रोक्न विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न सङ्घसंस्था र सरोकारवालासँग समन्वय भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल बताउँछन्।
उनले भने, “हामीले शान्ति सुरक्षा कायम गर्न सबैसँग समन्वय गरिरहेका छौँ।” यससँगै धरानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। धरान प्रवेश गर्ने तरहरा, नहडा, झन्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।