चन्द्रयानको चन्द्र अवतरण किन ऐतिहासिक, यसले कस्तो अनुसन्धान गर्छ (विवरणसहित)

मूलखबर संवाददाता
काठमाडौं

भारतले पठाएको चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान सफल अवतरण गराएर भारतले इतिहास रचेको छ। बुधबार बेलुका चन्द्रमाको सतहमा चन्द्रयान ३ अवतरण भएको भारतीय अन्तरिक्ष संस्था इसरोले घोषणा गरेको हो।

चन्द्रयान-३ अवतरणको बेला इसरोले प्रत्यक्ष प्रसारण गरेको थियो। चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा सफलतापूर्वक उत्रिएको छ। पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भारत विश्वको पहिलो देश बनेको छ। केही दिनअघि रुसले पठाएको लुना–२५ अवतरणका क्रममा दक्षिणी ध्रुवमा दुर्घटना भएको थियो।


यो मिसन सफल भएसँगै भारत चन्द्रमाको सतहमा पुग्ने संसारकै चौथो र दक्षिणी ध्रुवमा पुग्ने पहिलो मुलुक बनेको छ। चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म अन्वेषण हुन सकेको छैन। यसअघि अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको उत्तरी ध्रुवमा यान पठाएका थिए।

सन २०१९ मा भारतले पठाएको चन्द्रयान २ अवतरणको क्रममा दुर्घटना भएको थियो। एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको अन्तरिक्षयानलाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो।

यस्तो छ ल्यान्डर र रोभरको काम

चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्। अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ। चन्द्रयान-३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ। यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

अब के हुन्छ

चन्द्रयान ३ बाट अब रोभर छुट्टिने छ। अवतरण गरेपछि ‘विक्रम’ नामको ल्यान्डरबाट ६ वटा पाङ्ग्रा भएको रोभर ‘प्रज्ञान’ बाहिर निस्किएर अनुसन्धान गर्नेछ । २६ किलोग्रामको ‘प्रज्ञान’ रोभरमा रहेका उपकरणले चन्द्रमाको सतहको भौतिक विशेषता, सतह नजिकैको वायुमण्डलको अवस्था र सतहमुनिको भौगर्भिक गतिविधिको अध्ययन गर्नेछन् ।

त्यसले संकलन गर्ने महत्त्वपूर्ण डेटा र तस्वीर ल्यान्डरले अर्बिटर हुँदै पृथ्वीमा पठाउने छ। रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छ । ‘प्रज्ञान’ संस्कृत शब्द हो र त्यसको अर्थ ‘विवेक वा बुद्धि’ हो।

चन्द्रयान–३ को एउटा मुख्य उद्देश्य त्यहाँ बरफको खोजी गर्नु पनि हुनेछ । पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिक बताउँछन्।

पृथ्वीदेखि चन्द्रमाको दूरी करिब ३ लाख ८४ हजार ४०३ किलोमिटर छ। तर, चन्द्रयान ३ सिधै नगई पृथ्वी र चन्द्रमाको परिक्रमा गर्दै करोडौं किलोमिटर दूरी पार गरेर ४८ दिनमा पुगेको हो।

पृथ्वीमा २४ घण्टा बराबर १ दिन हुन्छ। पृथ्वीमा १४ दिन हुँदा चन्द्रमामा चाहिँ एक रात हुन्छ। अरू १४ दिन हुँदा चन्द्रमामा एक दिनको दिउँसो बित्दछ। अर्थात् त्यहाँ १ दिन १ रात हुन् पूरा यहाँको २८ दिन लाग्दछ।

ल्यान्डर र रोभरका ब्याट्री चार्ज हुन र काम गर्न सूर्यको प्रकाशको आवश्यकता पर्छ। यसको लागि पृथ्वीको १४ दिनमा ब्याट्री चार्ज हुनेछ।

मोदीको अर्को उद्घोष

ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा दक्षिण अफ्रिकामा रहेका मोदीले हिन्दीमा भर्चुअल्ली सम्बोधन गर्दै देशका सबैकोझैँ आफ्नो मन चन्द्रयान-३ मा रहेको बताए। उनले भने: “भारतको सफल चन्द्र अभियान भारतको मात्र होइन।”
मोदीले भारतको “मानव केन्द्रित शैली” भन्दै “एक पृथ्वी, एक परिवार, एक भविष्य संसारभर गुञ्जिरहेको” बताए। उनले यस क्षणका लागि भारतीय अन्तरिक्ष निकाय इसरोले वर्षौँ मिहिनेत गरेको बताए।

“हाम्रा वैज्ञानिकहरूको कडा मिहिनेत र प्रतिभाले हामी चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका छौँ, जहाँ विश्वको कुनै पनि देश पुग्न सकेका छैनन्। अब चन्द्रमासँग सम्बन्धित मिथकहरू फेरिनेछन्, कथा पनि फेरिनेछन्, नयाँ पुस्ताका लागि भनाइहरू पनि फेरिनेछन्।”

उनले अन्तरिक्षमा नयाँ खोजको लागि भारत अब अघि बढ्ने समेत बताएका छन्। दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा सहभागी हुन पुगेका मोदीले भिडियो सन्देशमार्फत अब भारतको अध्ययन सूर्यमा केन्द्रित हुने बताए। सूर्यको अध्ययनका लागि इसरो आदित्य एल-वन मिसन सुरु गरिने घोषणा मोदीले गरेका छन्। दक्षिण अफ्रिकाबाटै मोदीले चन्द्रयान-३ को अवतरणको प्रत्यक्ष प्रशारण इसरोका वैज्ञानिकहरुसँगै हेरेका थिए।