एसइईको नतिजा शुक्रबार आउने, यसरी सकिन्छ हेर्न
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ ।
उहाँले भन्नुभयो, “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । शुक्रबार (साउन २२) सम्म परीक्षाफल सार्वजनिक गर्छौँ ।”
एसइईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार प्रकाशित गर्ने भन्ने यकिन भएको छैन । गत वर्ष चैत १७ देखि २९ गतेसम्म एसइई परीक्षा भएको थियो । ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रमा सम्पन्न भएको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी थिए ।
परिक्षाफल वेवसाइट, फाेन म्यासेज, भाइबर र फाेन नम्बरमार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।