सामाजिक सञ्जालमा ताली पाउने नाममा सतही विषय उठान नगरौं : प्रधानमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, १३ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सन्जालमा ताली पाउने लोभमा सतही विषयको उठान गर्न नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीहरुले सतही विषयलाई उठान गरिरहेका त छैनौं, सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुने देखिएका छन् ।

उहाँले भन्नुभयो, सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ । हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त हावी भइरहेको छैन ?’

प्रधानमन्त्रीको प्रश्न छ, ‘कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौं रु कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?’

प्रधानमन्त्री प्रचण्डले केही हुँदैन र अवस्था बदलिँदैन भन्ने हीनभावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन नसक्नेसमेत बताउनुभयो। उहाँले विगतको १८ घण्टा लोडसेडिङको अवस्था हुँदै मेगावाट बिजुली निर्यात गर्ने विन्दुमा आइपुगेको स्मरण गराउनुभयो।

‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा देशमा अठार घन्टासम्म लामो लोडसेडिङ्ग थियो। केही महिनामै हामीले लोडसेडिङ्ग मुक्त उज्यालो नेपाल बनायौं र आज केही वर्षमै भारत र बंगलादेशलाई समेत बिजुली बेच्ने ठाउँमा आइपुगेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको आयात न्यून बनाएर दशौं हजार मेगावाट बिजुली निर्यात गर्ने उत्साहजनक बिन्दुमा आइपुगेका छौं। यति उज्यालो भविष्यको यति नजिक यसअघि हामी कहिल्यै थिएनौं।’

तर जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले महत्व पाइरहेको आशंका गर्दै उहाँले लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ नहुने बताए। त्यसका लागि तथ्यात्मक आधार चाहिने उहाँको भनाइ छ।