एमालेकाे दाेहाेराे चरित्रको कारण लाखौं युवाहरू अनागरिक बन्ने स्थिति आयाे – सांसद निधि
कांग्रेस नेता तथा सांसद विमलेन्द्र निधिले एमालेको दोहोरो चरित्रका कारण मुलुकका लाखौं युवा अनागरिकको जीवन बिताउनु परिरहेको आरोप लगाएका छन् ।
शनिबार जनकपुरको ऐतिहासिक नोचा पोखरीको डिलमा अयोजना गरेको नियमित बैठकलाई सम्बोधन गर्दै निधिले एमाले पहिल्यैदेखि एमाले नागरिकताका विषयमा अनुदार रहेको बताएका हुन् । उनले भने, ‘नागरिकता विधेयकमाथि संसद्मा बहस हुँदा विरोध गर्ने, सम्मानित राष्ट्रपतिजीले प्रमाणीकरण गर्दा विरोध गर्ने एमाले सुरुदेखि नै नागरिकताको विषयमा अनुदार रहँदै आएको छ ।’
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको गम्भीर उल्लंघन भएको उनको जिकिर थियो । उनले भने, ‘नेपालको संविधानले राष्ट्रपतिलाई दुई पटक पारित भएर आएको विधेयकलाई रोक्ने अधिकार दिँदैन । दुवै सदनबाट पारित विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता छ तर एमालेका साथीहरु अचेल कुतर्कमा उत्रेका छन् ।’
नागरिकता विधेयक जिउँदै रहेको तर्क गर्दै उनले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रमाणीकरण संविधानसम्मत भएको दाबी गरे । ‘अदालतले समयमै यस विषयलाई संबोधन गर्नु पर्दछ । संविधानमा प्रस्ट उल्लेख भए पनि कानुनको अभावमा नागरिकताबाट वञ्चित बनाइएकाहरुलाई यथाशीघ्र न्याय दिनु पर्दछ,’ उनले भने ।