ललितपुरको लुभुमा सहकारीका अध्यक्षले म्यानेजरलाई फसाउन स्कुटरको डिकीमा पेस्तोल राखेपछि…

रामकुमार कार्की
ललितपुर, २, श्रावण २०७९

ललितपुरमा एक सहकारीका अध्यक्षले आफ्ना म्यानेजरलाई फसाउन स्कुटरको डिकीमा पेस्तोल राखेको खुलेको छ। गत असार १३ गते स्कुटरको डिकीबाट पेस्तोलसहित पक्राउ परेका महालक्ष्मी–८ लुभु बस्ने श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा यो तथ्य खुलेको हो।

यो प्रकरणमा प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका वडा नं। ८ लुभु बस्ने ४३ वर्षीय अनिल श्रेष्ठ र सोही स्थानका ५० वर्षीय अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ।

श्यामकृष्ण श्रेष्ठलाई भने हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ।

गत असार १३ गते दिउँसो साढे २ बजे श्यामकृष्ण श्रेष्ठ चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीबाट २ राउण्ड गोलीसहितको पेस्तोल बरामद भएको थियो। पेस्तोलसहित प्रहरीले श्यामकृष्णलाई पक्राउ गरेको थियो।

तर प्रहरीले अनुसन्धान गर्दै जाँदा अर्कै तथ्य फेला पा¥यो। प्रहरीका अनुसार अभियुक्त अनिल श्रेष्ठ सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, अख्खनदास श्रेष्ठ निवर्तमान उपाध्यक्ष र श्यामकृष्ण सोही संस्थाका व्यवस्थापक थिए।

अनिल श्रेष्ठले सर्लाही घर भई हाल लुभू बस्ने एक महिलालाई भगाई दोस्रो विवाह गरेपछि उनीहरु दुवैविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा बहुविवाह मुद्धा दर्ता भएको थियो। अनिलले भगाएका महिलाका पूर्वपति र सहकारीका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठ मिल्ने साथी भएकाले श्यामकृष्णले अनिल श्रेष्ठविरुद्ध अदालतमा समेत साक्षी बकपत्र गरेका थिए। सो प्रकरणपछि अनिलले श्यामकृष्णलाई भित्री रुपमा दुश्मनका रुपमा लिएका थिए।

अनिलले आफू अध्यक्ष रहेको सहकारी संस्थाटै आफ्नो र परिवारका नाममा २ करोड ९५ लाख कर्जा निकालेकोमा त्यसको ब्याज तथा साँवा रकमसमेत नतिरी कर्जा अनियमित गरेका थिए। त्यसपछि म्यानेजर श्यामकृष्णले कर्जा चुक्ता गर्न अनिललाई पटक–पटक ताकेता गर्दै आएका थिए। यहीकारण दुवै जनाबीच मनमुटाव थियो।

श्यामकृष्ण श्रेष्ठ पक्राउ परेको मिति असार १३ गतेभन्दा पहिले पनि अनिल श्रेष्ठले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा पेस्तोल र गोली छ भनि सूचना दिएका थिए। त्यतिबेला प्रहरी परिचालन गरिएकोमा उक्त नम्बरको स्कुटर ललितपुर प्रहरी टोलीले फेला पारेको थिएन।

गत जेठ २५ गते अनिल श्रेष्ठ उक्त सहकारीमा गए र आफैं सहकारी कार्यालयको पार्किङ एरियामा गई श्यामकृष्ण चढ्ने स्कुटरबाट उक्त हतियार निकाले। अनिलको यो क्रियाकलाप सोही सहकारीमा जडित सीसीटीभीमा देखियो।

त्यसपछि असार १३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश ३–०२–०१२प ६२४१ नम्बरको स्कुटर चढी लगनखेलस्थित मालपोत कार्यालयमा जान भनि हिडे। अनिल श्रेष्ठले भने प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठको स्कुटरमा हतियार छ भनी सूचना दिए। अनिल आफैंले श्यामकृष्णको पिछा गरी प्रहरीलाई २५ पटक कल गरी श्यामकृष्णको लोकेशन जानकारी गराई लगातार अवैध हतियार को सूचना दिएको प्रहरीले जनाएको छ।

श्यामकृष्णले चढ्ने स्कुटर सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको थियो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सो स्कुटरको दुइटा चाबी छ । उक्त स्कुटर एक वर्षदेखि श्यामकृष्णले चढ्दै आएको भए पनि उक्त स्कुटरको अर्को साँचो पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठसँग हुन्थ्यो। अख्खनले करिब २५ दिन अगाडि साँचो अनिललाई दिइसकेको बताएको हुँदा अनिलले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्न अवस्था विद्ममान रहेको प्रहरीको भनाइ छ।

अनुसन्धान गर्दै जाँदा लुभुका ४३ वर्षीय सहकारीका अध्यक्ष अनिल श्रेष्ठ पनि तानिएको प्रहरी उपरीक्षक शाहले बताए।

पूर्वरिसइबी तथा कर्जा असुलीमा ताकेता गर्दा आफूलाई परेको असरसमेतका कारण श्यामकृष्ण श्रेष्ठलाई फसाउन अभियुक्त अनिलले आपराधिक षडयन्त्र गरेको देखिन आएकाले उनीहरुलाई पक्राउ गरिएको र श्यामकृष्ण श्रेष्ठलाई हाजिर जमानीमा छाडी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्य दुई जनामाथि हातहतियार तथा खरखजाना, आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत ललितपुरबाट हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।

यसमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।