शिक्षा मन्त्रालयद्वारा निजी विद्यालयलाई आफू खुसी शुल्क नउठाउन निर्देशन
नीजि विद्यालयहरुले आफूखुसी शुल्क बढाउन थालेको भन्दै चौतर्फी आलोचना र प्रतिक्रियाहरु आइरहेका बेला शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मनत्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको स्मरण विज्ञप्तिमा गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।
त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था रहेको भन्दै मन्त्रालयले केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।