चितवन २ मा कांग्रेसका श्रेष्ठ, स्वतन्त्रका लामिछाने र एमालेका न्यौपाने प्रतिस्पर्धामा
वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले उम्मेदवारी दिएका छन् । चितवन नम्बर २ को निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुर्व सभापति जित नारायण श्रेष्ठ साझा उमेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पाटीबाट अध्यक्ष रवि लामिछाने र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने उमेदवार बनेका छन् । सोमबार भएको मनोनयन दर्ता कार्यक्रममा दलबाट १२ र स्वतन्त्रबाट १२ गरी २४ जनाको उम्मेवारी परेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यलेका अनुसार चितवन २ मा आगामी बैशाख १० गते हुने निर्वाचनका लागि २ महिला र २२ पुरुष चुनावी मैदानमा रहेका छन् ।
गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो । लामिछानेको सांसद पद खोसिएपछि रिक्त रहेको उक्त स्थामनमा उपनिर्वाचन हुन लागेको हो ।
सो निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट जिवलाल पुरीको उम्मेदवारी मनोनयन दर्ता गरिएको छ भने नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर तमाङ, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिनको मनोनयन दर्ता भएको छ । जय जन्मभूमि पार्टीबाट प्रेमबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीबा महानन्द जैशी, राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारीले उम्मेदवार बन्न मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारका लागि अम्बिका भट्ट, चक्रपानि न्यौपाने, ताराप्रसाद पौडेल, भास्करचन्द्र न्यौपाने, मोजराज बगाले, रामकृष्ण ओझा, लक्ष्मीमाया कोइराला बुढाथोकी, बिक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्शन कँडेल, सुमन श्रेष्ठ र सुवास परियारले मनोनयन दर्ता गराएका छन् ।
चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि सो क्षेत्रमा ४८० मतदाता थपिएका छन् । कुल १ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहेको चितवन २ मा उम्मेदवारी दर्ता गराएका मध्ये मुख्य रुपमा प्रमुख दलका उम्मेदवारहरु बीच नै प्रतिस्पर्धा हुने देखिन्छ