दुधकाे मुल्यमा वृद्धि, प्रतिलिटर १६ सम्म बढ्यो

मूलखबर संवाददाता
काठमाडौं, १ चैत

सरकारले दुधकाे मूल्य बढाउने निर्णय गरेसँगै डीडीसीले दुधकाे मुल्यमा प्रति लिटर १६ रूपैयाँ बढाएको छ ।

डीडीसीका महाप्रवन्धक सन्जिव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए । ‘बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन्, त्यहीं मूल्य बिहीबारदेखि हामीले उपभोक्ताबाट लिने हो’ उनले भने ।

अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ । त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । बिहीबारदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँ पर्नेछ । संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ ।

बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्नेछ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ ।