जनयुद्ध दिवसकै दिन तीन सहिदकी आमाकाे निधन
नेकपा माओवादीकाे नेतृत्वमा सञ्चालित जनयुद्धकाे प्रक्रियामा आफ्ना तीन छोरा गुमाएकी सुनकोसी गाउँपालिका ५ नाङ्गेडाडाकी ८३ वर्षीय सिता दाहालको जनयुद्ध दिवसकै दिन सोमबार बिहान निधन भएको छ । जनयुद्ध शुरु भएपछि सिताका छोराहरु मीनकुमार, पवन र देवीप्रसाद राज्यद्धारा मारिएका थिए ।
तीनछोरा र तीनछोरीकी आमा सिताका छोराहरु युद्धमोर्चामा रहेकै बखत मारिएका हुन् । स्थानीय संचारकर्मी मिनकुमार दाहालका अनुसार जेठो छोरा वीरगंज, माइलो मरिण गाउँपालिका र कान्छो गाउँमै मारिएका थिए ।
यूद्धमा लडाकु बनेका तीनवटा छोरा नै गुमाएकी आमा सिताको जनयुद्धको शंखघोष भएको दिन फागुन १ गते नै देहत्याग हुनु संयोग भएको पत्रकार दाहालको भनाइ छ । कान्छी छोरी ममतासंग वस्दै आएकी सिता निधनले जनयुद्धको आदर्श आमा गुमाएको भन्दै वाग्मती प्रदेसका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।
वडा नं ५ नाङ्गेडाडाका १७ जनाले जनयुद्धका क्रममा ज्यान गुमाएका थिए । यसैबीच जनयूद्ध दिवसको अवसर पारेर मरिण गाउँ पालिकाले युद्धका क्रममा मारिएका र वेपत्ता भएका ६५ परिवारलाइ सोमबार २० हजारका दरले नगद सहित सम्मान गरेको छ ।
प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सहिद तथा वेपत्ता परिवारलाइ सम्मान गर्दै जनयुद्ध सकिएपनि आर्थिक समृद्धिको युद्ध बाकी रहेको बताए ।