तराईमा बढ्दो शीतलहर : जनजीवन कष्टकर, बालबालिका र वृद्वलाई कठिन

मूलखबर संवाददाता
बीरगञ्ज, २६ पुस

तराईमा विगत तीन हप्तादेखि लगातार बढ्दै गएको शीतलहर, बाक्लो हुस्सुसँगै कठ्याँग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिकी जीवन कष्टकर बन्दै गएको छ ।

दिनभरी बाक्लो हुस्सुसँगै शितलहरी पर्ने गरेको कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढि प्रभावित बनेका छन् । गरिब, विपन्न परिवारहरु अहिले आगोको भरमा दिनचर्या विताउन बाध्य छन् । विहानदेखि बेलुकासम्म कठ्याँग्रिदो चिसो लाग्ने गरेको कारण दिनभरि पराल एवं दाउराको आगोको सहाराले दिन विताउने गरेको उनीहरुको भनाइ छ । दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाइ छ ।

शीतलहरसँगै बाक्लो हुस्सुबाट गरिब, विपन्न परिवार प्रभावित शितलहरीसँगै बाक्लो हुस्सुका कारण गरिब, दलित विपन्न परिवार बढि प्रभावित बनेका छन् । वीरगन्ज महानगरपालिका लगायत जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, निमुखा दलित परिवारका सदस्यहरु अहिले कठ्याङ्ग्रिदो चिसोको कारण प्रभावित बनेका हुन् । विहान मेहनत गरि साँझ एक छाक टार्ने विपन्न परिवारहरु न त काम गर्न सकेका छन्, न त ढुक्का साथ सुत्न पाएका छन् । फुसको छाप्रो तथा त्रिपालको छानो बनाइ जीविकोपार्जन गर्दै आएका दलित परिवारका बालबालिका, वृद्धवृद्धाहरु कठ्याङ्ग्रिदो चिसोबाट प्रभावित भएका छन् ।

शीतलहरले गर्दा साना साना बालबालिकाहरुको हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारीमा काम गर्न पनि समस्या भएको उनीहरुको भनाइ छ । चिसोको समयमा एक त दिन सानो हुने गरेको त्यसमा पनि ११ बजेभन्दा अघि घरबाट निस्कने सक्ने अवस्था नरहेको कारण पुरा समयमा काम पनि गर्न नसकेको उनीहरुको भनाइ छ । चिसोले खास गरेर दैनिक ज्यालादारीमा काम गर्ने गरिब, मजदुरहरु प्रभावित बनेका छन् । विहानदेखि साँझसम्म काम गरेर साँझ छाकटार्ने गरिब, दलित परिवारका सदस्यहरु अहिले दैनिक रुपमा काममा पनि जान नसकेको बताउँछन् । याे खबर राजधानीमा छ ।