जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र
राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाइजहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिसहरु अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ।निजी एयरलाइन्सका हवाइजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरुलाई टिकट दिने गरेको उनीहरु बताउँछन्।
नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउण्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरु बताउँछन्। निजी विमान कम्पनीहरुले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरुलाई समस्या भएको हो। नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधरणहरु बताउँछन्।
आम सर्वसाधरणको गुनासो कसैले नसुन्ने र काठमाडौंबाट नेताहरुको पहुँचमा भएका व्यक्तिहरुले मात्रै जहाजको यात्रा गर्न पाइरहेको गुनसो गर्नुहुन्छ, डोल्पाका चन्द्रखड बुढा।उनले नेताहरुले आफ्नो पहुँचमा भएकालाई फोन गरेर पठाउने गरेको तर आम सर्वसाधरण जनताहरु भने नेपागञ्जमै हप्तौं बसिरहनुपरेको बताए। बुढाले बिरामी मान्छेहरुलाई समेत घर फर्किनको लागि नदिएको गुनासो गरे। उनले यदी आम सर्वसाधरण जनताको माग सम्बोधन नगरे जहाज अवतरण गर्न नदिने चेतावनी दिए। उनले बिरामी लिएर काठमाडौंबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट पाएका छैनन्।
त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए। यता समिट एयरका शाखा प्रमुख, दीपक शाहले समिट एयरले नियमित उडान गरिरहेको बताए। हुम्ला,जुम्ला, बाजुरा, मुगु, लगायतका जिल्लामा दैनिक ५ वटा उडान भरिरहेको बताए। तारा, नेपाल, सीता एयरलाइन्सले नियमित उडान नभर्दा समस्या आइरहेको यात्रुहरुको गनासो छ।
त्यस्तै नेपालगञ्ज नागरिक उड्डयन कार्यालय राँझाका प्रमुख सुरेशप्रसाद खनालले नेपालगञ्ज बेस बनाएर उडान भर्दै आएको तारा एयरले केही दिन अघिदेखि पोखरा बेस बनाएर माउण्टेन फ्लाईट गर्न थालेपछि दुर्गम जिल्लामा हवाई उडानमा कमी आएको बताए। नेपालीहरुको महान चाड बडादसैँको अवसरमा गाउँ फर्किनेहरुको चाप बढेका कारण टिकट पाउन मुस्किल भइरहेको विमान सञ्चालक कम्पनीहरुको भनाइ छ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।