अमेरिकी डलरकाे बढ्दो मुल्यले नेपाली अर्थतन्त्रमा कस्ताे असर पर्छ ?
अमेरिकी डलरको बढ्दो मूल्य र नेपाली मुद्राको खस्कँदो अवस्थाले नेपाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने खतरा देखिएको छ । विदेशी मुद्रा सञ्चति जोगाउन प्रयास भइरहँदा डलर नै महँगिँदै गएपछि आयातकै लागि थप खर्चनुपर्ने र निर्यातबाट पनि खासै लाभ लिन नसक्ने अवस्थाले अर्थतन्त्रमा चुनौती थपेको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि तय गरेको विदेशी विनिमय दरमा एक अमेरिकी डलरको १३१ रुपियाँ ४१ पैसा बिक्री दर निर्धारण भएको छ । यो दर हालसम्मकै उच्च हो । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैङ्कले पटकपटक ब्याजदर बढाएकाले विश्वमै डलर महँगिँदै गएको हो । युरो, स्टर्लिङ पाउन्ड, जापानी येनलगायत विश्वका प्रमुख छवटा मुद्राको तुलनामा सन् २०२२ मा अमेरिकी डलरको सूचकाङ्क १५ प्रतिशतले बढेको देखाएको छ । यो दुई दशककै उच्च हो । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन हुँदा सँगै नेपाली मुद्रा पनि अवमूल्यन हुन्छ ।
डलर महँगो हुँदै गर्दा विगतमा भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले प्रतिडलर ८० भारु पार गर्न थालेपछि सञ्चित डलर बिक्री गरेर लाभ सुरक्षित गर्ने गरेको थियो तर अहिले भारतमा विदेशी मुद्रा सञ्चति पाँच खर्ब ५० अर्बभन्दा तल झरेका कारण डलर बेच्न सकिरहेको छैन । यो अवस्था अधिकांश ठूला अर्थतन्त्र भएका मुलुकमा देखिएको छ ।
अझै महँगिने अनुमान
डलर महँगिने क्रम अझै जारी नै रहने अन्तर्राष्ट्रिय विश्लेषणले औँल्याएका छन् । अमेरिकी केन्द्रीय बैङ्कले पछिल्लो छ महिनामा ब्याजदर ०.७५ प्रतिशतका दरले तीन पटक वृद्धि गरेको छ र मूल्य वृद्धि नियन्त्रण गर्न यो क्रम अझै जारी रहने भएकाले पनि डलरको मूल्य बढ्ने बताइएको छ ।
“अमेरिकी मूल्य वृद्धि अहिले ९ प्रतिशतमा छ र यसलाई २ प्रतिशतमा सीमित गर्न उसले ब्याज बढाइरहेको छ,” बैङ्किङविज्ञ परशुराम कुँवरले भन्नुभयो । अमेरिकाको यो लक्ष्य भने छिट्टै भेटाउने अवस्था नरहेकाले डलर अझै महँगिँदै जान सक्ने उहाँले बताउनुभयो । विभिन्न प्रक्षेपणले अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीति सन् २०२३ को डिसेम्बरसम्म नै रहने देखाइरहेका छन् ।