दशैंकाे लागि टिकट बुकिङ खुल्याे, यात्रुको चाप ह्वात्तै, यस्ताे छ व्यवस्था

मूलखबर संवाददाता
काठमाडौं

दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभागलगायत सरोकारवालाहरूको संयुक्त बैठकले यसअघि नै गरेको निर्णयअनुसार असोज १ गतेदेखि बसको टिकट बुकिङ खुला गरेको हो ।  नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार नयाँ बसपार्कमा अन्य ठाउँमा भन्दा यात्रुहरूको चाप लागेको छ ।  यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ । दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमा टिकट काट्ने स्टल राखिएको अध्यक्ष स्वाँरले बताए ।