त्रिविमा तालाबन्दी सदाको लागि अन्त्य गर्नुपर्छ : शिक्षा मन्त्री पाैडेल

मूलखबर संवाददाता
काठमाडौं, १२ भदौ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयमा सदाका लागि तालाबन्दी अन्त्य हुनुपर्ने बताएका छन् ।   विद्यालयहरूले कक्षा ११ र अन्य तहका विद्यार्थीलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने उनको धारणा छ । आइतबार नेपाली विद्यार्थी संघले समग्र शैक्षिक विकासका लागि तात्कालिक तथा संरचनागत समस्या सम्बोधन गर्ने मागसहितको ज्ञापनपत्र बुझेपश्चात् मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  मन्त्री पौडेललाई नेविसंघले २९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

मन्त्री पौडेलले नेविसंघको ज्ञापनपत्रमा माग गरिएको पछिल्लो समयमा विद्यालयले विद्यार्थी भर्नामा चर्को शुल्क लिएको विषयमा अनुगमन गर्ने तयारीमा रहेको जानकारी दिए । उनले नेविसंघले उच्च शिक्षामा पनि बेथिति रहेको सुझाव दिएको भन्दै उच्च शिक्षामा रहेका समस्या समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताए ।

मन्त्री पौडेलले उच्च शिक्षामा विदेशका विश्वविद्यालयबाट मान्यता प्राप्त भएर विद्यालय सञ्चालन भए–नभएको अनुगमन गरी छानबिन गर्ने प्रतिबद्धता जाहेर गरे । उनले छात्रवृत्तिको विषयमा लक्षित विद्यार्थीले नपाएको धेरै गुनासो आएकाले छात्रवृत्तिमा पनि लक्षित विद्यार्थीको पाए–नपाएको छानबिन गरिने जानकारी दिए ।

मन्त्री पौडेलले छात्रवृत्ति पाउने लक्षित वर्ग छुट्याउने काम स्थानीय तहको भएकाले स्थानीय तहसँग सम्झौता हुने भएकाले स्थानीय निकायलाई सुझाव दिनुपर्ने बताए । मन्त्री पौडेलले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीभन्दा पनि नपढ्ने विद्यार्थीको माग पूरा गर्न नसकिएको जानकारी दिए । उनले नेविसंघले त्यस विषयमा गम्भीरतापूर्वक मनन गर्नुपर्नेमा जोड दिए ।