नवौं राष्ट्रिय खेलकुदमा सबै खेलमा सहभागिता जनाउने योजनामा बागमती प्रदेश
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुँदै गरेको
नवौं राष्ट्रिय खेलकुदमा सबै खेलमा भाग लिने गरी वागमती प्रदेशले तयारी थाल्न लागेको छ । असोज २८ देखि कातिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि सबै प्रदेशले छनोट थालिसकेका छन् । प्रतियोगिताका लागि विभागीय टोली पनि तयारी अवस्थामा छन् । दुई पटक मिति तोकेर सरेको प्रतियोगिता अब तेस्रो पटक तोकिएको मितिमै हुने राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ ।
प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद्हरुले तयारी समय नपुगेको भनेपछि दोस्रो पटक प्रतियोगिता सरेको थियो । तर, प्रतियोगिताको तयारी भने अहिलेसम्म विभागीय टोली बाहेकले थालेका छैनन् ।
बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका सबै स्पर्धामा सहभागिता जनाउने योजना बनाएको छ । प्रदेशका खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने योजनासमेत बनिसकेको छ । त्यसका लागि प्रदेशले भदौ १५ गतेसम्म खेलाडी छनोट गरिसक्ने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए ।
उनले अन्य प्रदेशको तुलनामा आफूहरुले धेरै पदक ल्याउने अपेक्षा गरेको हुनाले पनि प्रतियोगिताका लागि अहिलेदेखि नै तयारी थाल्ने र बन्द प्रशिक्षणमा राख्ने योजना बनाएको बताए । ‘प्रतियोगिताका लागि हामीले यही १५ गतेसम्म तयारी गरिसक्ने योजना बनाएका छौं । त्यसका लागि हामी तयारी अवस्थामा छौं । १५ गतेसम्म छनोट सकियो भने हामी खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्नेछौं,’ भण्डारीले रातोपाटीसँग भने ।
त्यस्तै बागमतीले पहिलो बागमती प्रदेश खेलकुदमा समावेशमध्ये ७ खेलका खेलाडीको प्रदेश छनोटको मापदण्ड तयार पारेको छ । बागमतीले प्रदेश खेलकुदमा समावेशमध्ये भलिबल, फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलका खेलाडी छनोटको मापदण्डमा ६ आधार तयार पारेर अघि बढेको छ ।