त्रिविबाट ६३ हजार १ सय ३७ विद्यार्थी दिक्षित, पोहोर भन्दा दोब्बर, कुनमा कति ?
त्रिभुवन विश्वविद्यालय सभाले ६३ हजार १ सय ३७ विद्यार्थीको ग्रेसलिस्ट पास गरेको छ । त्रिविको ६३औं वार्षिक दिवसका अवसरमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभाध्यक्षतामा बसेको सभाले उक्त ६०औं ग्रेसलिस्ट पास गरेको हो ।
यो संख्या स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधिको हो । तीमध्ये प्राविधिकतर्फ १६ दशमलब ८१ प्रतिशत र साधारणतर्फ ८३ दशमलब १९ प्रतिशत रहेको त्रिवि रजिस्ट्रार पेशल दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन् । ग्रेसलिस्टमा परेका विद्यार्थीले त्रिविको ४८औं दीक्षान्त समारोहमा सहभागी हुन पाउने छन् । यो संख्या गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । कोभिड–१९ का कारण गत वर्ष २९ हजार ७ सय २९ जनामात्र दीक्षित भएका थिए ।
उपाधि योग्यमध्ये एमफिल १ सय ४४, पिजिडी १ सय ७१ र विद्यावारिधि १ सय १, एमसीएच १६ र डीएम २४ जना छन् । त्यसैगरी संकायगत आधारमा व्यवस्थापनमा २२ हजार ९ सय ४२, शिक्षाशास्त्रमा १५ हजार ६७, मानविकीतर्फ १३ हजार ५ सय ९ र कानुनतर्फ १ हजार ३ जना छन् । यस्तै अध्ययन संस्थानतर्फ विज्ञान तथा प्रविधिमा ४ हजार ३ सय ७९, इन्जिनियरिङमा ३ हजार ४ सय ९३, चिकित्साशास्त्रमा २ हजार ४४, कृषि तथा पशुविज्ञानमा ४ सय ७६ र वनविज्ञानमा २ सय २४ जना छन् ।