शिक्षामन्त्रीले दातृ निकायसँग भने –स्रोतको अभाव हुनसक्छ, सहयोग गुर्नपर्यो

मूलखबर संवाददाता
काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा आइसीटी माध्यमबाट शैक्षिक प्रशासन एवम् शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको बताउनुभएको छ ।
शुक्रबार विकास साझेदारीका प्रतिनिधि एवम् विज्ञहरुसँगको प्रि–बजेट समिक्षा बैठकमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कोभिडको समयमा गुमेको सिकाई क्षति कम गराउन शैक्षिक क्षतिपूर्ति योजना बनाएर अघि बढ्न लागेको बताउनुभयो । उहाँले समयवद्ध रूपमा विद्यालय, शिक्षालय एवम् उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको उल्लेख गर्नुभयो । ‘शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्न । यसमा दातृ निकायले सहयोग गर्नुप¥यो ।’
प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्य आर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परिक्षणका रुपमा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकुल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताउनुभयो ।
विद्यार्थीको सिकाई उपलब्धी बढाउने विषय र शिक्षक र अभिभाव बीचमा निरन्तर संवाद गर्ने विषयहरु समेत सुधारको प्राथमिकताका क्षेत्रहरु रहेको बताउँदै शिक्षकको पेशागत सहयोग र जवाफदेहीता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । बैठकमा विकास साझेदारीका प्रतिनिधिहरुले भुकम्पपछि विद्यालय पुनः निर्माण, शिक्षा र शिक्षण सिकाई प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।