कोहलपुरको मेयरमा माओवादीबाट नरेन्द्र न्यौपाने उम्मेदवार
नेपाली काँग्रेसले नेपालगञ्ज र कोहलपुरमा कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि बाँकेमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना लगभग समाप्त हुँदै गएको छ ।
नेपालगञ्ज र कोहलपुरमा काँग्रेसको अडान, नेपालगञ्जमा जनता समाजवादी पार्टीको अडान र कोहलपुरमा माओवादी केन्द्रको अडानले गठबन्धन नहुने सम्भावना बढेको हो ।
काँग्रेसको अडानपछि जनता समाजवादी पार्टीले नेपालगञ्जलगायतका चार पालिकामा एक्लै निर्वाचन लड्ने निर्णय गरेर प्रचार प्रसारमा होमिएको बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले पनि आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेर प्रचार प्रसारलाई तीव्र पारेको छ ।
काँग्रेसको अडानका कारण कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरिएको नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले बताउनुभयो । उहाँ यसअघि पनि स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो ।
माओवादीले कोहलपुरमा मेयरमा नरेन्द्र न्यौपाने सहित १३ वटा वडा अध्यक्षहरुको समेत टुङ्गो लगाएको खड्काले जनाउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रिप्रसाद जैसि, वडा नं २ मा अमर बिक, वडा नं ३ मा केशव रिजाल, कोहलपुर ५ मा कृष्ण थारु, कोहलपुर ६ मा रामशरण थारु, कोहलपुर ७ मा तेजबहादुर पुन, कोहलपुर ८ मा चन्द्र बुढा, कोहलपुर ९ मा ओपेन्द्रनाथ योगी, कोहलपुर १० मा कैलो बोहरा कुशल, कोहलपुर १२ मा निरक शाही, कोहलपुर १३ मा मिना पुन, कोहलपुर १४ मा दानबहादुर वली र कोहलपुर १५ मा राधेश्याम थारुलाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।
कोहलपुर ४ र ११ मा आकांक्षीको संख्या एक भन्दा बढी भएकाले सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । उपमेयर पदमा समेत एक भन्दा बढी आकांक्षी रहेकाले सो पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको नेकपा (माओवादी केन्द्र), कोहलपुरले जनाएको छ ।
कोहलपुरको उपमेयरमा रेणुका खड्का, साबित्रा पुन, विष्णु चौधरी, कौशिल्या खड्का र अवराज खड्काको दावेदारी रहेको छ ।
माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवार न्यौपाने ।
तस्विर ः सिराज खान । नेपालगञ्ज