देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : मन्त्री भुषाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुुपर्ने बताएकी छिन् ।
जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने उनको भनाइ छ । कृषि मन्त्रालयमा आज भएको छलफलमा मन्त्री भुसालले भनिन्, “हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यहीभित्र नाफा, व्यापार खोजौँ । मेरो विनम्र आग्रह छ ।”
उनलेे दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् ।
उनले भनिन्, “देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ ।” लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।
जलविद्युत प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “हामी आवश्यकताअनुसारको विद्युत उपलब्ध गराउन तयार छौँ । जलविद्युत आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत दिन तयार छौँ ।”
ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिति आउन नदिने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, “ऊर्जाकै कारणले महङ्गो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।” डलर खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावि पुस्ता, दीगो विकास लक्ष्य, विश्व सामु हामीले गरेका प्रतिवद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ ।”
देशको आर्थिक विकासका लागि लगानी बोर्ड स्थापना भएको स्मरण गर्दै उनले सम्पूर्ण विश्व नै नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउँदै पेट्रोलियम पदार्थको कटौतीमा लागिरहेको अवस्थामा स्वच्छ ऊर्जा विद्युतलाई बाइपास गरेर अरु देशहरुले निरुत्साहित गरेको प्रविधिमा हामी जान नहुने बताउँदै त्यसतर्फ लगानी बोर्ड गम्भीर हुनुपर्ने बताइन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मल खादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले विद्युतबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने उल्लेख गर्दै लागतको विषयमा पनि छलफल गर्नुपर्ने बताए ।
उनले भने, “सातवटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्नेगरी अगाडि बढ्नुपर्छ ।” उनले चाँडोभन्दा चाँडो नेपालमा मल कारखाना स्थापना गरेर कृषकलाई आश्वत तुल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाको लागि पनि मख कारखाना स्थापना महत्पूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए । उनले भने, “दूरगामी हिसाबले पनि जलविद्युत नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविस्यका लागि पनि यो नै उपयुक्त हुन्छ ।”
नेपालमै मलकारखाना स्थापना गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो ।