दैलेखमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार

रासस
दैलेख, १९ माघ

दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । आठबिस नगरपालिका –८ तिलेपाटाकी २४ वर्षीया हीरा बडुवाललाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

मंगलबारदेखि नै सुत्केरी व्यथा लागेर थलिनुभएकी बडुवालको आठबिस नगरपालिका –९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई छेपाडीले बच्चा नजन्मेपछि ठाटिकाँध गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा रिफर गरेको थियो ।

प्रथामिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लक्ष्मी रावतले प्रथमिक स्वास्थ्य केन्द्रमा ल्याएर उपचारपछि बच्चा जन्मिएको बताउनुभयो । उहाँले बच्चा जन्मिए पनि बच्चाको तौल कम भएको र रक्तश्राव अत्यधिक भएपछि प्रशासनमार्फत हेलिकप्टर मगाएर प्रथामिक स्वास्थ्य केन्द्रबाट सुत्केरीको उद्धार गरिएको बताउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको बताउनुभयो ।

आर्थिक वर्षको साउनदेखि माघ १९ गतेसम्म दश जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भएको उहाँको भनाइ छ ।