पढाइलाई छेकेन उमेरले : फर्कियो आमाहरुको मुहारमा खुशी

मूलखबर संवाददाता
पोखरा, २५ साउन ।

पढाईलाई उमेरले छेक्छ की छेक्दैन ? यो प्रश्नको पहिले जवाफ आउथ्यो बुढो भइयो अब के पढ्नु ? तर अहिले यो प्रश्नको जवाफ फेरिएको छ । उमेरले पढाइलाई छेक्दैन र छेकिनु हुँदैन ।
यो प्रश्नको जवाफलाई बेनीका आमाहरुले पुष्टि गरेका छन् । उमेरले पढाईलाई छेक्दैन ।
बेनी नगरपालिका–८ कालिपुलकी भुलमायाँ तिलिजाले ६० वर्षको उमेरमा एसईई उर्तिण गरिन् । सदरमुकाम बेनीमा संचालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईईमा सहभागी भएकी तिलिजा सहित नौ जना आमाहरुले एसईई उर्तिण गरेका छन् । बीचमै पढ्न छोडेका र विभिन्न कारणले पढ्न नसकेका महिलाहरुको लागि बेनीमा २०७३ देखि उज्यालो बैकल्पिक विद्यालय स्थापना गरिएको छ ।

विद्यालय स्थापना भएसँगै नियमित रुपमा विद्यालयमा पुगेर अध्ययन गर्दै आएकाहरुमध्ये यस वर्षको एसईईमा २४ देखि ६० वर्ष उमेर सम्मका आमाहरु परीक्षामा उर्तिण भएको विद्यालयका सहजकर्ता रिता गर्बुजाले जानकारी दिइन् । यस विद्यालयमा २० देखि ६० वर्ष उमेर सम्मका ६८ जना अध्ययनरत छन् ।

बाध्यताले बीचैमा अध्ययन छाडेर घर सम्हालेर बसेको अवस्थामा पुनः अध्ययन गर्न मिल्ने उज्यालो बैकल्पिक विद्यालय स्थापना भएपछि आफुहरुको अधुरो रहेको पढ्ने चाहना पुरा भएको तिलिजाले बताईन् । ‘पढ्ने रहरलाई ढिलै भएपनि पुरा गर्न सफल भएका छौँ, हिजो साधारण विद्यालयमा गएर पढ्न सकिएन, आज छोराछोरीहरुले समेत पढाई पुरा गरीसकेपछि हामीले पढ्ने अवसर मिल्यो’ उनले भनिन् ।

यसैबीच उज्यालो बैकल्पिक विद्यालयबाट एसईई उर्तिण गर्ने नौ जना आमाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री नरदेवी पुन, विद्यालय सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष राजेश शाक्य, सचिब लोकेश पुन मगर लगायतले एसईई उर्तिण आमाहरुलाई सम्मान गरेका थिए । उज्यालो बैकल्पिक विद्यालय स्थापना भएपछि यस वर्ष पहिलो पटक एसईईमा परीक्षार्थीहरु सहभागी भएका थिए ।

२०७७ को एसईईमा सहभागी भएर उतिर्ण हुने आमाहरुले २।४० देखि २।६० जिपिए लिएर उतिर्ण गरेका छन् । उर्तिण हुनेहरुमा ६० वर्षीय भुलमाया तिलिजा, ५५ वर्षीय लालकुमारी सापकोटा, ४८ वर्षीय भुलकुमारी तिलिजा, ३७ वर्षीय सविना नेपाली, ३६ वर्षीय तिर्सना भण्डारी, ३० वर्षीय रेणु विक, २८ वर्षीय पुष्पा शाही, २५ वर्षीय सलिना विक, २४ वर्षीय ललिता तिलिजा रहेका छन् ।

विद्यालयमा आमाहरुलाई नेपाली विषयसहित अंग्रेजी, गणित विषयमा पठनपाठनसँगै कम्प्युटर सम्बन्धी समेत सामान्य सिप विकास गरिएको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष शाक्यले जानकारी दिए । विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक रुपमा सहयोग उपलब्ध गराएका छन् ।-नयाँ पत्रिकाबाट