लमजुङमा आर्थिक वर्ष ०७७ /७८ को १ अर्ब ५८ करोड बजेट फ्रिज

मूलखबर संवाददाता
लमजुङ, २१ साउन

लमजुङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ०७७ /७८ को लागि पठाएको रकममध्ये १ अर्ब ५८ करोड ७४ लाख ९३ हजार बजेट फ्रिज भएको छ । लमजुङमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये करिब ८३ प्रतिशत खर्च भएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त ९ अर्ब १६ करोड ४५ लाख मध्ये ७ अर्व ५७ करोड ७० लाख ७ हजार रुपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङको अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त रकम मध्ये ८३ प्रतिशत रकम मात्रै खर्च भएको हो । कार्यालयका प्रमुख भगवान उप्रेतीका अनुसार गत आर्थिक वर्ष लमजुङमा संघीय बजेटअन्तर्गत चालूतर्फको ५ अर्व ३६ करोड ६९ लाख २१ हजार रुपैयाँ प्राप्त भएकोमा ४ अर्व ६७ करोड ४१ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फको एक अर्व ६७ करोड ७२ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा एक अर्ब २८ करोड ५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ ।

जिल्लामा प्राप्त सात अर्ब ४ करोड ४२ लाख १२ हजार रुपैयाँ संघीय बजेटमध्ये एक अर्ब ८ करोड ९५ लाख ४९ हजार रुपैयाँ खर्च हुन नसकेको हो । यस्तै गत आर्थिक वर्षमा जिल्लामा प्राप्त प्रदेश बजेटअन्तर्गत चालूतर्फको ५५ करोड १४ लाख ६४ हजार रुपैयाँ ४१ करोड १३ लाख २० हजार रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारबाट पुँजीगत तर्फको एक अर्ब ५६ करोड ८८ लाख २४ हजार रुपैयाँ बराबरको बजेटमध्ये एक अर्व २१ करोड १० लाख २४ हजार रुपैयाँ खर्च भएको छ ।

जिल्लामा प्राप्त दुई अर्व १२ करोड २ लाख ८८ हजार रुपैयाँ बराबरको प्रदेश बजेटमध्ये ४९ करोड ७९ लाख ४४ हजार रुपैयाँबराबरको बजेट खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख उप्रेतीले जानकारी दिए ।

गत आर्थिक वर्षमा संघीय सरकारबाट ३३ करोड ४५ लाख ५२ हजार रुपैयाँ र प्रदेश सरकारबाट चार करोड ७६ लाख ६० हजार रुपैयाँ गरी ३८ करोड २२ लाख १२ हजार रुपैयाँ राजस्व प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यलय लमजुङले जनाएको छ । कोरोना भाइरस कोभिड १९ का कारण लकडाउन भएकाले समयमै योजना कार्यान्वयनमा चासो नभएका कारण जिल्लाबाट ठुलो रकम बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख उप्रेतीले बताए । नयाँ पत्रिकाबाट