विपक्षी सांसदले अवरोध गरेपछि बागमती प्रदेश सभा बैठक स्थगित

मूलखबर संवाददाता
हेटौंडा, २१ असार

बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेलगत्तै सोमबार पनि प्रदेश सभा बैठक स्थगित भएको हो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष माओवादी केन्द्रलगायत विपक्षी दलहरूले आगामी आर्थिक वर्ष ०७८/७९ को विनियोजन विधेयकमाथि विरोध जनाउँदै अवरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको क्रममा शनिबारदेखि निरन्तर विरोध जनाउँदै प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, प्रतिपक्ष कांग्रेस र विपक्षी दलहरू एकजुट भएर बैठक अवरोध गर्दै आएका छन् । सोमबार दिउँसो १ः४५ मा सभामुख श्रेष्ठले बैठक सुचारु गर्नासाथ मोआवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बजेट पास हुन नदिने वा संसद् निरन्तर अवरोध गर्ने मनसाय नभए पनि आफूहरूको माग पूरा नगरिएको र सत्तापक्षले आफ्नो व्यक्तिगत हित अंगाल्दै ल्याएको बजेटमा समर्थन जनाउन नसक्ने हुँदा सभामुखलाई बैठक अघि नबढाउन आग्रह गरेका थिए । त्यसपछि सभामुखले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

आगामी आर्थिक वर्षको बजेटबारे विपक्षी दलहरूले विरोध जनाएपछि छलफलमा सहमति नजुट्दा बागमती प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

आइतबार सभामुख सानुकुमार श्रेष्ठको हेटौँडा– १० स्थित सरकारी निवासमा बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसक्दा आइतबारको बैठक स्थगित गरिएको हो ।