अर्को निर्णय नहुन्जेलसम्म  साल्ट ट्रेडिङ र खाद्यको २० प्रतिशत छुट सुविधा जारी रहने

मूलखबर संवाददाता
काठमाडौं

 

काठमाडौं, ८ असार ।

सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्दै आएका सामग्रीहरुमा उपभोक्तालाई २० प्रतिशत छुट सुविधा जारी रहने भएको छ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाको नेतृत्वमा असार ७ मा बसेको बैठकले छुट सुविधालाई निरन्तरता दिने निर्णय गरेको हो। यो निर्णयसँगै बजेट वक्तव्यको ५५ नम्बर बुँदाबमोजिमको सुविधा कायम गर्न अर्थ मन्त्रालयले खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्राचार गरेको छ।

यससँगै उपभोक्ताले उक्त दुई संस्थान तथा यिनका बिक्री केन्द्रहरुबाट बिक्री हुने नुन, दाल, चामल, चिनी, नुन, पिठो, ग्यास लगायतका वस्तुमा पाइरहेको २० प्रतिशत छुट अर्को निर्णय नहुन्जेलसम्मका लागि कायम रहेको छ।

गत जेठ १५ मा आएको आगामी आवको बजेटको ५५ नंबर बुँदाबाट सरकारले आफ्ना दुई व्यापार कम्पनीहरुले बिक्री गर्ने अत्यावश्यक सामग्रीमा उपभोक्तालाई कोभिड संक्रमणका कारण लगाइएको निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने घोषणा गरेको थियो।

उक्त घोषणा बमोजिमका वस्तुको सहज उपलब्धता तथा व्यापारमा बजार अवस्था सहज गरिएको भएपनि अत्यावश्यक सामग्रीमा छुट सुविधा निषेधाज्ञा हटेपनि निरन्तरता दिन पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए। उपत्यकामा मंगलबारबाट थप एक साताका लागि निषेधाज्ञा कायम गरिए पनि बार तोकेर पसल खुला तथा सवारीमा जोर बिजोर प्रणाली लागुसँगै निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

निषेधाज्ञा अवधिभर खाद्य कम्पनी र साल्ट ट्रेडिङले चामल, दाल, चिनी , पिठो , नुन र ग्यास दालमा २० प्रतिशत छुट दिएर बिक्री गर्दै आएको छ।