जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

मूलखबर संवाददाता
काठमाडौं

जागिर लगाइदिन्छु भन्दै किशोरीलाई बलात्कार गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।

५२ वर्षीय गाउँपालिका अध्यक्ष यादवलाई संखुवासभा घर भई परिवारसँग इटहरीमा बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष यादवले पीडित किशोरीलाई धरान(भेडेटार सडक खण्डको सारंगा डाँडा मास्तिरको डुकु होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई अर्धनग्न अवस्थामा पक्राउ गरिएको डीएसपी बस्‍नेतले बताए । पीडित किशोरीकी आमा र दिदीले यादवविरुद्ध उजुरी दिएका छन् । प्रहरीले बुधबार सुनसरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धानका लागि यादवलाई हिरासतमा राखेको छ ।

बुधबार दिँउसो अध्यक्ष यदावले को १ झ ३४४१ नम्बरको सरकारी गाडीमा ती युवतीलाई चढाएर डुकु होटल लगेका थिए । ती किशोरीलाई गाउँपालिकामा जागिर लगाइदिन्छु भन्दै यादवले इटहरीबाट गाडी चढाएर उक्त होटल लगेको प्रहरीले जनाएको छ । होटलको कोठामा पुर्‍याएपछि अध्यक्ष यादवले किशोरीलाई ‘तिमिलाई जसरी पनि जागिर मिलाइदिउला’ भन्दै शारीरिक सम्पर्क राख्न खोजेका थिए । डीएसपी बस्नेतका अनुसार किशोरीले शारीरिक सम्पर्क राख्न नमानेपछि यादवले बियर खुवाएर मताएपछि बलात्कार गरेका थिए ।

किशोरी बलात्कृत भएको सूचना पाएलगत्तै प्रहरीले डुकु होटलबाट अर्धनग्न अवस्थामा यादवलाई पक्राउ गरेको थियो । डीएसपी बस्‍नेतले भने, ‘किशोरी र यादवबीच केही समय पहिलेदेखि सामान्य चिनजान सम्पर्क भएको आधारमा अध्यक्ष यादवले ती किशोरीलाई जागिर लगाइदिने प्रलोभन देखाउँदै आएका रहेछन् । बुधबार गाउँपालिकाका अध्यक्ष आफैं नै गाउँपालिकाको सरकारी गाडीमा चढेर इटहरी आएर किशोरीलाई लिएर डुकु होटल गएको देखिएको छ ।’ अध्यक्ष यादवले आफ्नो र किशोरीको नक्कली नाम लेखाएर कोठा बुक गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ । यादवले होटलमा आफ्नो नाम सलिन साह लेखाएका थिए ।

दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराइएको छ । यादव तत्कालीन संघीय समाजवादी फोरमबाट २०७४ को स्थानीय तहको चुनाव जितेर गाउँपालिका अध्यक्ष भएका थिए ।

पीडित किशोरीले आफूलाई यादवले जागिर मिलाइदिने प्रलोभन देखाएर जबरजस्ती शारीरिक सम्पर्क गरेको प्रहरीलाई बताएकी छन् । प्रनाउ बस्नेतले पीडित किशोरीलाई उद्धृत गर्दै भने, ‘जागिरको कुरा गर्न भनेर गाडीमा बसाएपछि कता लगेको हो मलाई थाहा दिएनन् । होटलमा पुर्‍याएपछि बलात्कार गरे ।’ कान्तिपुरबाट