क्यान्सरलाई यसरी सजिलै जित्न सकिन्छ : पढाैं र शेयर गराैं
स्तन क्यान्सर लागेका प्रत्यक्ष अनुभवीले आफ्नो हौसलाले क्यान्सरलाई पराजित गरेको अनुभव सुनाउनुभएको छ ।
नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले क्यान्सर विरुद्ध सचेतना अभियान क्रममा आइतबार यहाँ आयोजना गरेको वेभ कार्यक्रमका सहभागिले सफल उपचार र मनोबलले क्यान्सरलाई पराजित गर्ने जनाएका थिए ।
अक्टोबर महिनालाई विश्वभर नै “क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ” भन्ने नाराका साथ स्तन क्यान्सर विरुद्धको अभियान सञ्चालन गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियान सञ्चालन गरिएको छ ।
स्तन क्यान्सर लागेर निको भएकी पूजा कुँवर शुरु शुरुमा आफूलाई स्तन क्यान्सर भएपछि मरिहालिन्छ कि भन्ने रहेकोमा पछि शल्यक्रिया गरेपछि निको भएको अनुभव सुनाउनुभयो ।
“यो रोग लागेपछि बाचिन्न कि भन्ने डर लाग्यो । शल्यक्रियापछि आफू भित्रबाट हौसला निकालेर शक्ति पाएँ”, उहाँले भन्नुभयो, “शुरु शुरुमा किमो दियो कपाल झर्ने । अहिले नभएको कपाल पनि राम्रो लाग्छ । कपाल झरेर झन् नयाँ कपाल आयो । कपालदेखि नङ नयाँ आउँदा शरीरले नयाँ जीवन पाएको छ ।”
उहाँले सबै महिलालाई स्तन क्यान्सर लागेपछि नआत्तिन समेत आग्रह गर्नुभयो । अर्का स्तन क्यान्सर स्मीता घिमिरे क्यान्सर भएरपछि मरिन्छ कि भनेर नडराउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “मैले ऊर्जा भएर हाँसेर नै क्यान्सरलाई जितेको छु । बरु अहिले कोभिड–१९ सँग डराएको छु । रोगसँग डराउने होइन । लड्ने हो ।”
नेपाल क्यान्सर अस्पतालका स्तन रोग विशेषज्ञ डा प्रफुल्ल शाक्यले नेपालमा स्तन क्यान्सरको राम्रो उपचार भएको जानकारी दिनुभयो ।
उहाँले स्तन क्यान्सर भएर विरलै महिलाको निधन हुने र ७० प्रतिशत महिलाको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरेको बताउनुभयो ।
उहाँका अनुसार क्यान्सरले स्तन फाल्नुपरे पनि फेरि बनाउन सकिन्छ । “नेपालमा पनि नयाँ स्तन जीउकै कुनै ठाउँको मासुको माध्यमबाट बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसको लागि ठूलो शल्यक्रिया हुन्छ । अहिले आएर हामी धेरै विज्ञ छौँ । नेपालमा सम्भव छ ।
कसैलाई इच्छा छ भने हामीले गर्न सक्छौँ ।” उहाँले रेजिना मुल्मीको पहिलो पटक शल्यक्रिया गरेर स्तन बनाएको जानकारी दिनुभयो ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्तन रोग विशेषज्ञ डा अरुण शाहीले स्तन क्यान्सरको समयमा नै पहिचान गरेर उपचार गरे निको हुने बताउनुभयो । उहाँले स्तन क्यान्सरको चाँडै उपचार नगर्ने हो भने फोक्सो, हड्डी र घाँटीमा असर पार्ने जानकारी दिनुभयो ।
त्रिविवि शिक्षण अस्पताल डा सुजिता हिराचनले स्तन क्यान्सर भए पनि महिलाले गर्भधारण गर्न सक्ने बताउनुभयो । “किमो थेपारी दिएको दुई वर्षपछि क्यान्सर निको भएपछि महिलाले गर्भधारण सक्नेछन्” उहाँले भन्नुभयो, “सामान्य तरिकाले महिलाले बच्चा जन्माउन सक्दछन् ।” उहाँका अनुसार नेपालमा २२ जना महिलामा एक जनालाई र पुरुषमा एक प्रतिशत क्यान्सर हुने गरेको छ ।
स्तन क्यान्सर पुरुष ज्ञानवहादुर लामा किमो थेरापीबाट आफ्नो क्यान्सर निको हुने क्रममा रहेको जानकारी दिनुभयो ।
सरभाइबर्स सोसाइटीका कोषाध्यक्ष विनु केसीका अनुसार नेपालका ४० वर्ष मुनीको २२ प्रतिशत महिलालाई स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहेको छ ।
विश्वमा ८ प्रतिशत महिलामा स्तन क्यान्सर हुने गरेको छ । ४० देखि ५० वर्ष उमेर समूहका महिला बढी बिरामी रहेका छन् ।