नेकपाकाे युवासंघले टुंग्यायाे जिल्ला र पालिकाकाे नेतृत्व (सुचीसहित)

मूलखबर संवाददाता
काठमाडौं

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देशैभरका जिल्ला र पालिकाको संयोजक र सहसंयोजक टुंगो लगाएको छ ।

युवा संघ संयोजक रामप्रसाद सापकोटा र र सहसंयोजक रमेश पौडेलले लामो गृहकार्यपछि संयोजक र सहसंयोजकसहित जिल्ला र पालिकाको नेतृत्व टुंग्याएको हो । नेकपा एमाले र मोआवादी केन्द्र एकता भएपछि तत्कालिन युवा संघ र वाइसिएलको समायोजनबाट बनेको युवा संघको जिल्ला नेतृत्व पहिला नै तोकिसकिएको थियो ।

युवा संघका सहसंयोजक पौडेलले सकेसम्म सवैलाई न्याय हुने गरी जिम्मेवारी तोकेर एकता टुंग्याएको बताएका छन् । संयोजक सापकोटाले पनि सकेसम्म न्याय दिने प्रयाश गरेको बताए ।

उनले भने,  ‘एकताको यो विशाल संगठनमा निर्णित जिम्मेवारीहरुले इच्छा, भावना र योगदान नसमेटेको पनि हुन सक्छ । यसलाई एकताको महासागर सम्झी यो नै एउटै र अन्तिम लक्ष्य नभएको कुरा यहाँहरुले बुझ्नुभएको छ भन्ने कुरामा विश्वस्त हुँदै एकता प्रक्रिया टुग्याउँन महत्वपुर्ण भुमिका खेल्नुहुने सम्पुर्ण नेता कमरेडलाई धन्यवाद ।’

बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेशबाहेक सबै कमिटीको एकता टुङ्गाएको सङ्घका संयोजक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार युवासङ्घले ७७ जिल्लाका संयोजक, सहसंयोजक, इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको छ । सतहत्तर जिल्लामध्ये साविक युवासङ्घको ४२ र योङ कम्युनिष्ट लिग (वाइसिएल) ३५ जिल्लाको नेतृत्व तथा ४० जिल्ला इञ्चार्ज वाइसिएल र ३७ जिल्ला इञ्चार्ज साविक युवा सङ्घको रहने गरी टुङ्गो लगाइएको छ ।

प्रदेशको पनि चार प्रदेश युवा सङ्घ र तीन प्रदेश वाइसिएलले लिने गरी सहमति भए पनि कसको भागमा कुन भन्ने टुङ्गो नलगाएको सङ्घका सहसंयोजक रमेश पौडेलले जानकारी दिए ।

यस्तै ३१ वटा विभागको टुङ्गोसमेत लगाइएको छ । साविक युवा सङ्घले १५ र साविक वाइसिएलले १५ वटा विभाग लिने सहमति भएको छ ।

यस्तै छ महानगरपालिका र ११ वटा उपमहागरपालिकाको संयोजक, सहसंयोजक तथा इञ्चार्ज र सहइञ्चार्ज पनि टुङ्गो लागेको छ । काठमाडौँ, पोखरा र चितवनका साविक युवा सङ्घ तथा विराटनगर, वीरगञ्ज र ललितपुर साविक वाइसिएलको नेतृत्व रहेको छ ।

यस्तै ११ उपमहागरपालिकामध्ये धरान, जीतपुर सिमरा, घोराही र नेपालगञ्ज साविक युवा सङ्घ र बाँकी सात वटा उपमहानगरपालिकामा वाइसिएलको इञ्चार्ज भएका छन् । सङ्घले सबै जिल्ला कमिटी र मातहतका कमिटीको एकता आगामी कात्तिक महिना र केन्द्रीय तहको एकता यही असोज महिनाभित्र गरिसक्ने सङ्घका सहसंयोजक पौडेलले जानकारी दिए ।

यस्तै लेखा र निर्वाचन आयोग साविक युवा सङ्घ तथा अनुशासन आयोग साविक वाइसिएलले पाउने गरी बाँडफाँट गरिएको छ । बैठकले लोकराज आचार्य र सन्तोष मगरलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । दुई सङ्गठनको एकतापछि बनेको युवा सङ्घमा अहिले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

हेर्नुस् कुन जिल्लामा कसले पाए जिम्मोरी सूचीसहित :