शिक्षकहरु तत्काल आफ्नो विद्यालय पुग्नुस् : शिक्षामन्त्री

मूलखबर संवाददाता
काठमाडौं, ११ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरूलाई आफू कार्यरत रहेको विद्यालयमा तत्काल पुग्न निर्देशन दिएका छन्।

कोरोनाभाइरस महामारीका कारण अहिले नै भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गर्न सकिने अवस्था नरहे पनि वैकल्पिक विधिको सिकाइका लागि शिक्षक विद्यालयमा उपस्थित हुनुपर्ने उनले बताएका हुन्।
‘सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरी शिक्षकहरू तत्कालै विद्यालय पुग्नुपर्छ,’ शिक्षा पत्रकार समाजले शनिबार गरेको भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले भने।

सम्बन्धित विद्यालयभन्दा बाहिर रहेका शिक्षकलाई विद्यालय पुग्न उनले आग्रह गरेका हुन्।

शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिबाट सिकाइ अगाडि बढ्ने भएकोले शिक्षक विद्यालय उपस्थित हुनुपर्ने उनको भनाइ छ। मन्त्री पोखरेलका अनुसार शिक्षकको कोरोना बीमा गर्ने व्यवस्थासमेत मिलाइसकिएको छ।

शैक्षिक सत्र खेर नजाने गरी पाठ्यबस्तु संस्लेषण गरिएको पनि उनको भनाइ छ। सरकारले अनलाइन, रेडियोलगायत वैकल्पिक विधिबाट गत असारदेखि नै विद्यार्थीको सिकाइलाई निरन्तरता दिइरहेको छ।

वैकल्पिक विधिलाई मान्यता दिँदै सरकारले यहि विधि मुलधारको रूपमा पनि अगाडि बढाउन सकिने प्रष्टाएको छ।