खानेपानी मन्त्रालयको सहयोगमा भरियो रानीपोखरीमा पानी : फेरियो रुप, देखियो सुन्दरता

मूलखबर संवाददाता
काठमाडौं, ४ असोज ।

भुकम्पले क्षती भएपछि करिब ५ वर्षपछि रानीपोखरीले पुनर्जिवन पाएको छ ।
संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो ।

रानीपोखरीमा पानी नहुँदा राजधानी नै सुख्खा जस्तो देखियएको थियो भने राजधानीको सुन्दरता नै हराएको थियो ।

विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिनुभयो । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिनुभयो ।

पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।

मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताउनुभयो । थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए । ‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ’, थापाले भन्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको कार्य एक हप्ताभित्र सकिने जनाएको छ । प्राधिकरणका सीईओ सुशील ज्ञवालीले एक साताभित्र पोखरीको पुनर्निर्माणको पहिलो चरणको कार्य सम्पन्न हुने बताएका हुन् ।

पोखरीमा ३ करोड लिटर पानी भरिने रानी पोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले बताए । पोखरीको ३ वटै तहमा करिब १४ करोड लिटर पानी अट्छ । अहिले भरिएको पानी स्थिर भएपछि विस्तारै अन्य तहहरुमा पानी भरिने बताइएको छ । सचिव तुलाधारका अनुसार पोखरीको उद्घाटन चाँडै नै हुनेछ ।