कारागारमा काेराेना कहर : न त ट्रेसिङ, न त उपचार
सुन्धारास्थित केन्द्रीय कारागारमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ पर्याप्त नहुँदा कैदीबन्दी संक्रमणको जोखिममा परेका छन् । कैदीबन्दीको उपचारका लागि स्थापना गरिएको कारागार अस्पताल व्यवस्थित नहुँदा संक्रमितको उपचारमा समेत बाधा पुगिरहेको छ ।
कोही संक्रमित भइहाले भर्ना गर्नका लागि अस्पताल पाउनै मुस्किल पर्ने जेलर लक्ष्मी बास्तोलाले बताए । अन्य अस्पतालले भर्ना लिन नमान्दा १९ जना संक्रमित अहिले कारागारभित्रै बसिरहेको उनले बताए । ‘वीर, पाटन या कुनै पनि सरकारी अस्पतालले हाम्रा संक्रमित लिन मान्दैनन् । अर्कोतर्फ संक्रमणले गम्भीर भएकालाई अस्पताल लैजाने गाडी छैन । एम्बुलेन्स बोलायो लिन आउँदैन, एउटा एम्बुलेन्स पठाइदेऊ भनेर स्वास्थ्य मन्त्रालयमा कैयौं पटक फोन गर्छौं तर आउँदैन,’ उनले भने, ‘कति पटक म आफ्नै गाडीमा संक्रमित लैजान्छु, जोखिममा पर्छु ।’
एक हजार चार सय ५० जना क्षमताको यो कारागारमा तीन हजार दुई सय ६६ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी व्यक्ति राख्नुपर्दा कारागारमा सामाजिक दूरी कायम गर्न सम्भव नै नभएको उनले बताए । यहाँ १५ बालबालिका, ८५ जना गम्भीर रोगी, ५ सय जना अन्य रोगका बिरामी र ६० वर्ष उमेर कटेका वृद्धवृद्धा पनि छन्, जसलाई व्यवस्थित गरेर राख्न नसक्दा संक्रमणको उच्च जोखिममा छन् । कारागारमा यस्ता जोखिम वर्गका व्यक्तिलाई छुट्टै राख्ने ठाउँसमेत छैन । संक्रमित ४ जनाको मृत्यु भइसकेको उनले बताए ।
हालसम्म दुई सय १६ जनाको पीसीआर परीक्षण गरिएकोमा ६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । तर ट्रेसिङमा परेका अन्य कसैको परीक्षण हुन सकेको छैन । ‘अन्य मानिसहरू जस्तो कैदीबन्दीलाई जहाँसुकै राख्न मिल्दैन, निश्चित दायरामा राख्नुपर्छ नत्र भाग्छन्,’ उनले भने, ‘कि हाम्रो अस्पताललाई कोभिड बनाइदेऊ, कि कैदीबन्दीका लागि छुट्टै सानो अस्पताल देऊ भनेर कति माग गर्यौं, तर सुनुवाइ भएको छैन ।’
सबैखालका बिरामीको एकैसाथ उपचार
कैदीबन्दीको उपचारका लागि कारागारभित्रै ३० शय्याको अस्पताल छ । देशभरिका कैदीबन्दीलाई उपचारका लागि यहीँ ल्याइन्छ । शय्या अभावका कारण संक्रमित, शंकास्पद र अन्य बिरामीलाई समेत एकैसाथ राख्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार शंकास्पद बिरामीका लागि दुई सय ६० शय्याको आइसोलेन केन्द्र बनाउने भनेर कारागारभित्रको कारखाना भवन खाली गरिएको थियो । तर, त्यसका लागि न शय्या नै छन्, न आवश्यक स्वास्थ्य सामग्री ।
‘परीक्षण हुन्छ, संक्रमित भेटिन्छन् तर उनीहरूको सम्पर्कमा आएका शंकास्पदलाई छुट्टै राख्ने ठाउँ छैन,’ उनले भने, ‘यसरी परीक्षणको अर्थ पनि छैन, सधैं यस्तै रह्यो भने यहाँभित्र बस्ने जोखिम वर्गका कैदीबन्दी बचाउन हाम्रो तह र क्षमताले भ्याउँदैन ।’ गम्भीर बिरामीका लागि यो अस्पतालमा आईसीयूको सुविधा पनि छैन । एकै स्वास्थ्यकर्मीले दुवैखाले बिरामी हेर्नुपर्दा अन्य बिरामी र स्वास्थ्यकर्मीसमेत संक्रमणको जोखिममा छन् । स्वास्थ्यकर्मीका लागि बस्ने छुट्टै क्वारेन्टाइन पनि छैन, उनीहरू अस्पतालमै बस्छन् ।
अस्पतालमा कोरोना शंकास्पद कुनै बिरामीको मृत्यु भइहाले स्वाब परीक्षण नहुने गरेको र यसले अस्पतालमा संक्रमणको अवस्था के छ भनेर थाहा नहुने एक स्वास्थ्यकर्मीले बताए । ‘गत साता ६ जना शंकास्पद कैदीबन्दीको मृत्यु भयो तर स्वाब परीक्षण भएन,’ यसले संक्रमणको जोखिम बढाएको भन्दै उनले भने, ट्रेसिङमा परेका सबैको परीक्षण गर्ने हो भने यहाँका सयौं कैदीबन्दीहरूको रिपोर्ट पोजिटिभ आउने सम्भावना छ ।’
गम्भीर भएर अस्पताल भर्ना भएका बाहेक अन्य कसैको पनि परीक्षण नभएको उनले दाबी गरे । ‘ट्रेसिङ गरौं, परीक्षण गरौं’ भन्ने आवाजहरू उठ्दा ‘परीक्षण धेरै गरे संक्रमित धेरै भेटिन्छन् र व्यवस्थापन नगरेको जस्तो देखिन्छ’ भन्ने गरिएको अर्का स्वास्थ्यकर्मी सुनाउँछन् । दैनिक २० देखि २५ जना ज्वरोका बिरामी आए पनि उनीहरूको कोरोना परीक्षण नगरी पठाइने र उनीहरूलाई अन्य कैदीबन्दीहरूसँगै मिसाएर राख्ने गरिएको उनले बताए । ‘यस्तोमा के गर्ने–गर्ने ? हामी आफैं मानसिक तनावमा छौं,’ उनले दुःखेसो पोखे ।
उनका अनुसार अस्पतालमा हालसम्म ७ सय जना कोरोनाका लक्षण पनि भएका शंकास्पद बिरामी पीसीआर परीक्षणबिनै फर्काइएको छ । ‘गम्भीर संक्रमित भए यो उपचार गर्न अस्पतालमा एक जना मात्रै विशेषज्ञ चिकित्सक छन्, आईसीयू छैन, बिरामी अन्तै रेफर गर्नुपर्छ । तर बेड छैन भनेर कसैले लिन मान्दैनन्,’ उनले भने, ‘ननकोभिड अस्पतालले त झन् यहाँको बिरामी बेड भए पनि लिँदैनन् । भदौ १५ मा एक जनाको अस्पताल चहार्दाचहार्दै मृत्यु पनि भयो, झगडा गरेर एउटा अस्पतालमा भर्ना गरेका थियौं तर धेरै ढिला भइसकेकाले बचाउन सकिएन ।’- कान्तिपुर