एक वर्ष कार्यकाल रहँदै जापानी प्रधानमन्त्रीद्धारा स्वास्थ्य समस्या देखाउँदै राजीनामा

मूलखबर संवाददाता
काठमाडौं, १२ भदौ ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिदै गर्दा बताए ।

जापानी सञ्‍चारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।

आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको आबेले पत्रकार सम्मेलनमा बताए । ८ वर्षसम्म आफूलाई यो रोगले नसताए पनि यस वर्ष जुनमा गरिएको परीक्षणपछि भने आफूलाई समस्या देखिएको उनले बताए । आफूले अहिले औषधि लिइरहेको पनि बताए ।

आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । अब आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै राजीनामा दिनुपरेको पनि उनले बताए । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाई थियो । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफी मागेका छन् ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदैछ । आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको बेला उनले राजीनामा गरेर जन अपैषाको सम्मान गरेको मानिएको छ ।

कोरोना महामारीका कारण जापानको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर भएको विश्लेषण गरिएको थियो । केही दिनअघि प्रधानमन्त्री आबेले अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जापानमा अहिलेसम्म करिब ६६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जापनमा कोरोनाबाट अहिलेसम्म एक हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।