झापामा गाेरू काटेपछि झडप, प्रहरीको गाेलीले एक मुस्लिम युवाको मृत्यु
झापा गाउँपालिका–३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागी घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।
इस्लाम धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । गोली लागि सख्त घाइते भएका ३८ वर्षिय आलमलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याइएको थियो । अस्पताल व्यवस्थापनले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ ।
गोरु काटेको खबर पाएपछि प्रहरी टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयवासीले आक्रमण गरेका सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।
स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । सयौंको संख्यामा स्थानीयहरुले टायर बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ । घटनामा एकजना प्रहरी पनि घाइते भएको र उनकाे उपचार भइरहेको प्रहरीले जनाएको छ ।
संविधानमा स्पष्ट रूपमा धर्म निरपेक्षता उल्लेख गरेकाे अवस्थामा मुस्लिम समुदायले गाेरू काटेकाे निहुँमा प्रशासनले हस्तक्षेप गरि गाेली चलाउनु र हत्या गर्नु दुखद पक्ष रहेकाे झापाका नेकपा नेता रमेश गुरागाईले बताएका छन् ।