कार्यदलबारे नकारात्मक भ्रम नछराैं – नारायणकाजी श्रेष्ठ
सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलबारे नकारात्मक धारणा नबनाउन र भ्रमित नहुन अाग्रह गरेका छन् ।
कार्यदलबारे सन्तुष्ट नभएको भन्ने समाचार सार्वजनिक भएकै दिन श्रेष्ठले सामजिक सञ्जालमार्फत उक्त समाचारबाट भ्रमित नहुन भन्दै साे अाग्रह गरेका हुन् ।
उनले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनुपर्ने बताएका छन् ।
उनले लेखेका छन् –
हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ । यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।
मैले यस अघि नै सार्बजनिक रुपमा पार्टी सँकटको निकास को सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र के क को निर्णय अनुसार महाधिवेशनको तयारी । पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको छ ।
कार्यदलले तात्कालिन रुपमा कोभिड-१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्तत: राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक – आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ ।
यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी सँस्थागत निर्णय गरिनेछ।
यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।
तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टी भित्र केही बिषयमा कुनै छलफल ,बहस र सँघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भैहाल्नु उपयुक्त हुँदैन ।बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्दछ ।