लकडाउनपछि पहिलाेपटक चितवनमा प्रचण्ड : तटबन्ध छिटो बनाउन निर्देशन
चितवन, २७ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान चितवन पुग्नुभएको छ । लकडाउन शुरू भएपछि पहिलोपटक चितवन पुगेका प्रचण्डले भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्नुभएको थियाेे । अवलोकन गर्दै प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिनुभयो ।
साे क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ । तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो । अवलोकनमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।