सिन्धुपाल्चोकमा बाढीको वितण्डा : १७ घर बगे, १८ मानिस बेपत्ता

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, २५ असार ।
असारको अन्तिम हुँदै गर्दा आएको सिन्धुपाल्चोकमा बुधबार राति बाढीले १७ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।
स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । ‘अझै नौ जना बेपत्ता छन्, उनीहरूको सेना र स्थानीय मिलेर खोजी गरिरहेका छन्,’ उनले भने । तीन जना घाइते रहेको र उनीहरूलाई उपचारमा लैजान माथिल्लो निकायमा हेलिकप्टरका लागि प्रयास भइरहेको पौडेलले बताए ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै प्रहरी टोली घटनास्थल गइरहेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । ‘जम्बुलगायत तातोपानी क्षेत्र जान मानेस्वाराको बाटो प्रयोग गर्नुपर्ने हुन्छ, त्यहाँसम्म गएपछि आधिकारिक विवरण आउनेछ,’ उनले भने ।

सेना र सशस्त्र प्रहरीको टोली भने घटनास्थल पुगिसकेको उनले सुनाए । त्यसै गरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको छ । ‘सबैतिरको यकिन विवरण आइसकेको छैन, ठूलो जनधनको क्षति भएको छ,’ न्यौपानेले भने ।

बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै हिलो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।
जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरू आक्रोसित हुन थालेका छन् । बाढी पीडितहरूको यतिखेर रुवाबासी हुन थालेको छ । घटनास्थलमा अहिले पनि भारी वर्षा भइरहेको छ ।
बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध भएपछि पर्याप्त मात्रामा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्नसकेका छैनन्, जसका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ । तर प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थलमा उद्धारकार्यमा खटिरहेको जानकारी दिनुभयो ।
घटनास्थल क्षेत्रमा वर्षा भइरहेका कारण उद्धार टोलीलाई समस्या भइरहेको जनाएको छ । बाह्रबिसेका नवीन श्रेष्ठका अनुसार बाह्रबिसेबाट घटनास्थल जान नसकिने जानकारी दिनुभयो । उहाँका अनुसार जलेटार, खाग्दलमा बाढीले सडक छिनेको र बगाएको कारण घटनास्थल जान सकिएको छैन ।