नेकपा विवाद मिलाउन दुई अध्यक्ष छलफलमा, जनार्दन र विष्णु पौडेल पनि सँगै

मूलखबर संवाददाता
काठमाडौं, १९ असार ।

सत्तारुढ दल नेकपाको आन्त्रिक विवाद मिलाउन पार्टीका दुई अध्यक्षहरु प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छलफलमा जुटेका छन् ।
असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूबीच पार्टीको आन्तरिक सङ्घर्ष शुरु भएपछि त्यसलाई निकास दिनेगरी दुई अध्यक्ष वार्तामा जुट्नुभएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाकार विष्णु सापकोटाले बताए ।

सापकोटाका अनुसार छलफलमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा महासचिव विष्णु पौडेल रहेका छन् भने प्रचण्डका साथमा नेता तथा पुर्व मन्त्री जनार्दन शर्मा रहेका छन् ।

पार्टीको विवाद मिलाउन र सहमति कायम गर्ने जिम्मा लिएर हिजो स्थायी समिति बैठक आजको लािग स्थगित गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साढे ११ बजे बालुवाटार पुगेका थिए ।

अहिले दुवै अध्यक्षबीच वार्ता जारी छ । पछिल्लो समय दुई अध्यक्षबीच अविश्वास बढ्दैगएपछि युवा नेताहरूले ‘मिल्न’ दुवै अध्यक्षलाई दबाव दिन थालेका छन् ।
असार १० देखि जारी रहेको नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटन्न नेताहरुले दबाब दिएपछि ओलीले हठात् संसद अधिवेशन अन्त्य गरी काउन्टर दिएका थिए ।
उनको सो कदमपछि विवाद थप उत्कर्षमा पुगेको छ । प्रचण्ड नेपाल पक्षले ओलीले पार्टीको निर्णय नमानेर पार्टी फुटाउन खोजेको आरोप लगाएको छ भने ओली पक्षले आफ्ना विरुद्ध भारतलाई उपयोग गरेर सरकार ढाल्न खोजेको आरोप प्रचण्ड नेपाल पक्षलाई लगाएको छ ।