प्रधानमन्त्रीले शुरु गरेपछि प्रचण्ड-नेपाल समुहको भिन्नै भेला, पार्टी निर्णय मान्नै पर्ने निर्णय
सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक जारी रहेका बेला दुई अध्यक्ष मध्ये एक अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले बालुवाटारमा भिन्नै भेला बोलाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल झलनाथ खानल पक्षले पनि बुधबार साँझ तीस भन्दा वढि स्थायी समिति सदस्य सहभागि एक भेला गरी महत्वपूर्ण निर्णय गरेको छ ।
बुधबारको स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएपछि बसेको दाहाल–नेपाल समूहका नेताहरूको भेलाले प्रधानमन्त्री ओलीसहित सबैले पार्टी निर्णय मान्नै पर्ने निर्णय गरेको भेलामा सहभागि नेता भिम रावलले जानकारी दिएका छन् ।
बिहीबार स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने बताइएको छ ।
ललितपुरको झम्सीखेलस्थित एक होटलमा भएको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालगायत समूहका स्थायी समितिका ३० भन्दा वढि सदस्यहरू सहभागी थिए । यही भेलाले विधानअनुसार पार्टी निर्णय मान्न प्रधानमन्त्रीलाई बाध्य बनाउने निष्कर्ष निकालेको हो ।
‘विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष हो,’ भेलामा सहभागी नेता रावलले भने, ‘मान्नु भएन भने विधानअनुसार नै अगाडि बढ्छौँं।’ पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ । उनले यस अघि पटक पटक भएका पाटीृका निर्णयहरु पालना नगरिएकाले यो अवस्था उत्पन्न भएको भन्दै अब जोसुकैले पनि पार्टीको निर्णय मान्ने पर्ने बाध्यकारी अवस्था सिर्जना गरिने बताए ।
यसअघि कुनै समूहमा नखुलेका सचिवालय सदस्य थापाले पनि ओलीले पार्टी निर्णय मान्नु पर्ने धारणा भेलामा राखेको उक सहभागी नेताले बताए । ‘यसरी नै पार्टी अगाडि बढ्दैन । अहिलेको लडाईं भनेको गुटको जित हुने कि पार्टीको जित हुने, क्रान्तिको जित हुने कि प्रतिक्रान्तिकारीको जित हुने भन्ने हो । एउटा निर्णयमा पुग्नैपर्छ’, भेलामा थापाले भनेका थिए ।
भेलामा ‘नेकपाभित्र उत्पन्न भएको समस्या, सरकार र पार्टीबीचको समस्या र आज नेपालको राजनीतिमा देखा परेका यी तमाम समस्याको कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नै भएको निष्कर्ष निकालिएको थियो । पार्टीलाई विचार र विधिबाट चलाइयो भनेमात्रै आन्दोलन र पार्टी जोगिन्छ । पार्टी निर्णय सबैले मान्नु पर्छ, पार्टी निर्णय नमान्ने नेता हुनै सक्दैन । सबै नेताहरूको बुझाई यत्ति हो,’ भेलामा सहभागि नेता नेपाल निकट अर्का एक नेताले भने । तस्विर श्रोत अनलाईनखबर