चिनले सिमा अतिक्रमण गर्याे भनेर `फेक´ प्रतिवेदन बनाउनेलाई कडा कार्वाही गरिन्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा–विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।
उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याइने बताए ।
भारतसँग सीमा–विवादका कारण पश्चिमको त्रिदेशीय सीमास्तम्भ कायम नभएकोबाहेक चीनसँग कुनै पनि ठाउँमा सीमा समस्या नभएको उनले बताए ।
उनले भने, ‘कसरी प्रायोजित ढंगले समाचारहरू आए ? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्युजहरू कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरू गम्भीर रूपमा लिएका छौँ । त्यो तथाकथित प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौँ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनेछौँ ।’
भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुवै देशबीच बनेको उनले जानकारी दिए ।
सन् २००६ भन्दा अगाडि ५७ र ६२ सीमास्तम्भ हराए पनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको उनले बताए ।