बिग मिडिया कान्तिपुरका ३ प्रकाशन बन्द, पत्रकार र कर्मचारी बेराेजगार
देशकै ठूलो प्रकाशन समूह कान्तिपुरले नेपाल साप्ताहिकसहित आफ्ना ३ सहप्रकासन बन्द गर्ने निर्णय गरेको छ ।
त्यहाँ आवद्ध ५३ जना पत्रकार, कर्मचारीलाई कुन प्रक्रिया अनुसार बिदाई गर्ने छलफल जारी छ ।
शुक्रबार नेपाल साप्ताहिकका सम्पादक बसन्त बस्नेत र साप्ताहिक एवं सर्वोत्तम नारीका सम्पादक राजाराम गौतमले यी प्रकाशन बन्द गर्ने व्यवस्थापनको निर्णय सहकर्मीलाई सुनाएका हुन् ।
२५ वर्षदेखि निस्किएका प्रकाशन कोरोना भाइरसको कारण आर्थिक संकट देखाउँदै कान्तिपुरले बन्द गर्ने निर्णय गरेको हो ।
पत्रकार, कर्मचारीको बिदाई अघि कस्तो सुविधा दिइने भन्ने वार्ता गर्न नेपालबाट सन्तोष आचार्य र साप्ताहिकको तर्फबाट मुकुन्द बोगटीलाई फोकल पर्सन तोकिएको एक पत्रकारले जानकारी दिए ।
व्यवस्थापनबाट भने प्रशासन प्रमुख पुष्पराज गिरी र लेखा प्रमुख धिरज श्रेष्ठ छन् ।
उनीहरुबीच प्रकाशन बन्द भएको अवस्थामा के, कसरी सहकर्मीको सहज विदाई हुन सक्छ भन्ने विषयमा छलफल हुनेछ ।
अधिकांश स्थायी प्रकृतिको नियुक्ति भएकाले कानुनी पाटो समेत अध्ययन गरी छलफल अघि बढाइने बुझिएको छ ।
गत चैत ११ गतेबाट लकडाउन सुरु भएलगत्तै उक्त प्रकाशन समूहले कान्तिपुर दैनिकसहित आफ्ना सबै प्रकाशन बन्द गरेको थियो ।
कान्तिपुर र द काठमाडौं पोष्ट दैनिक भने ७ दिन बन्द भई पुन प्रकासनमा आएका थिए ।
बाँकी प्रकाशन भने बन्द गर्ने औपचारिक जानकारी शुक्रबार गराइएको हो । नेपाल साप्ताहिकको अनलाईन भर्सन समेत बन्द भएको छ ।
यो निर्णयसँगै सबै पत्रकारको विदाई गर्ने वा कान्तिपुर पत्रिका र इकान्तिपुर डटकममा व्यवस्थापन गर्ने विषयमा कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माको अगुवाईमा अध्ययन भइरहेको बुझिएको छ ।
साप्ताहिकका सम्पादक गौतमलाई कान्तिपुर अन्तर्गत नै जिम्मेवारी दिइने विषयमा समेत व्यवस्थापनमा छलफल भइरहेको बुझिएको छ ।
अन्य पत्रकारले समेत केही रकम लिएर बिदाई भन्दा कान्तिपुर दैनिकतिरै समावेश गर्नुपर्ने माग राखेको अर्का एक पत्रकारले बताएको खबर खुलानेपाल डटकममा छ ।