गुल्मीका ८ महिने शिशु र आमामा कोरोना देखिएपछि…
गुल्मी, ३ असार ।
विश्वव्इापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९को संक्रमणबाट बालकदेखि वृद्धसम्मलाई छाडेको छैन । यसै क्रममा गुल्मीमा आठमहिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रेसुंगा नगरपालिका–४ मा आठमहिने शिशुमा संक्रमण देखिएको हो ।
गुल्मीमा हालसम्म संक्रमितको संख्या ५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयप्रमुख भवानीप्रसाद शर्माले बताए ।
आठमहिने शिशुसँगै उनकी १८ वर्षीय आमाको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको वडाध्यक्ष विजयकुमार मरासिनीले जानकारी दिएका छन् । उनका बुबाको रिपोर्ट भने नेगेटिभ आएको छ । मरासिनीका अनुसार संक्रमित आमा र शिशुलाई तम्घासको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । ‘उनीहरू दुवैको स्वास्थ्य सामान्य छ । उनीहरूलाई विशेष ध्यान दिन्छौं,’ उनले भने । भारतको दिल्लीबाट आएपछि उनीहरू क्वारेन्टाइनमा बसेका थिए ।
प्रादेशिक जनस्वास्थ्य भैरहवाको प्रयोगशालाबाट बुधबार रेसुंगा नगरपालिकाका ९ र सत्यवतीका एकसहित १० जनाका संक्रमण पुष्टि भएको हो ।